नेपाल समाचारपत्र,
काठमाडौं । ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको स्थापना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै बिहीबारदेखि बिधिवत रुपमा उक्त कार्यालयको संचालनमा आएको हो ।
सो कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहने छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानी जहाज कार्यालय स्थापना गरेर नयाँ कामको थालनी गरेको बताउनुभयो ।
‘आजदेखि मुलुकमा नयाँ कामको थालनी भएकोे छ । यस कामले समृद्धि नेपाल निर्माण गर्न नेपाल सधैँ एक कदम अगाडि रहेको सन्देश दिएको छ ।’, उहाँले भन्नुभयो ।
प््रधानमन्त्री ओलीले कार्यालय २, ४ जनालाई जागिर खुवाउन नभई देशलाई एक कदम अगाडि लान खोलिएको बताउनुभयो ।
भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले भूपरिवेष्ठित राष्ट्र भएपनि जलमार्गमा जोड्न सक्ने प्रयासको थालनी भएको कार्यालय स्थापनाले सन्देश दिएको बताउनुभयो ।
नयाँ युग भनेको पानी जहाज युग हो–प्रम ओली
मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले पानी जहाज संचालन भएसँगै नेपाल अन्तर्राष्ट्रिय यातायात सञ्जालमा जलयातायात पनि जोडिने धारणा राख्नुभयो । उहाँले पानी जहाजबाट सामन ढुवानी गर्दा समय र लागत घटाउन सकिने दाबी गर्नु भयो ।
मन्त्रालयका सचिब मधुसुदन अधिकारीले जलमार्गको लागि सुरुवाती काम गरेकोले धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । जनशक्ति देखि समय सुहाँउदो ऐन र नियमावलीको समेत आबश्यकता रहेकोले त्यसतर्फ ध्यान दिईएको उहाँले बताउनुभयो ।
जलमार्गमार्फत अन्तर्राष्ट्रिय जगतसँग सहज पहुँच सँगै तराईका समथर भुभागहुँदै बग्ने जलस्रोतको सदुपयोग गर्न पानी जहाजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
भारतको गंगा नदीबाट नारायणी नदी हुँदै नेपालसम्म आईपुग्ने गरी पानीजहाज चलाउने तयारी छ । यो पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्मनै ल्याउन सकिने हालैको अध्ययन टोलीको ठहर छ ।
३ मिटर गहिराई र ६० मिटर चौडाईको नदीमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानीजहाज सञ्चालन गर्न सकिने र पाँच सय टन क्षमताका पानीजहाज नेपाल आउनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।











प्रतिक्रिया