भाईरस उत्पादन गर्ने उद्योग शुरु, ‘भ्याक्सिन निर्यात गरेर डलर ल्याउँछौ’–प्रधानमन्त्री

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानी मैत्री वातावरण तयार भएकाले नीजि क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अनुरोध गरेका छन् । ‘नीजि क्षेत्रको माध्यमबाट बैदेशिक लगानीको वातावरण बनाउन अनुरोध गर्दछु’–प्रधानमन्त्री ओलीले भने ।

‘सरकारले नीजि क्षेत्रलाई संरक्षण र प्रोत्साहन गर्छ’–प्रधानमन्त्री ओलीले भने–‘रोजगार सिर्जना गरी बेरोजगार अन्त्य गर्ने उद्योगहरुमा उच्च प्रविधिमा आधारित ज्ञान, रोजगारी, उत्पादकत्व र निर्यात हुनेछ ।’ जिल्लाको बनेपा नगरपालिका वडा नम्वर ३ उग्रचण्डी नालामा स्थापना भएको गोल्छा संगठन र हेस्टर बायोसाईन्सेस् लिमिटेड इण्डियाका संयुक्त लगानी रहेको हेस्टर बायोसाईन्सेज नेपाल प्रालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भ्याक्सिनमा आत्मनिर्भर बनाउँदै निर्यात समेत गर्ने उद्योगलाई अगाडी बढ्न शुभकामना ब्यक्त गरे । ‘सार्वजनिक, नीजि र सहकारी क्षेत्रलाई समन्वय गर्दै सरकार अगाडी बढिरहेको छ’–प्रधानमन्त्री ओलीले भने–‘बेरोजगार अन्त्य गर्ने सरकारको लक्ष्यलाई उद्योगले सहयोग पु¥याएको छ ।’

‘हलो, कोदालो मात्रै होईन, बैज्ञानिक र प्रविधिमा आधारित भएका राष्ट्रलाई आत्मनिर्भर पुरा गरेर निर्यात गर्ने उद्योग आवश्यक छ’–प्रधानमन्त्रीले भने–‘सरकार कुरो बुझेर मात्र अघि बढिरहेको छ ।’ ‘भाईरस उत्पादन गर्ने, भाईरस बढाएर भ्याक्सिन बनाउने र भ्याक्सिन निर्यात गरेर डलर ल्याउन शुरु भएको छ’–प्रधानमन्त्री ओलीले भने–‘विकासको, विज्ञानको, प्रविधिमा विश्वास नगर्नेहरुले फेरी पनि उडाउन सक्छन ।’

विकासका लागि अनुकुल वातावरण तयार भएकाले सरकार लगानी मैत्री वातावरण सँगै सुशासन र विकासको प्रमुख एजेण्डा लिएर अगाडी बढेको प्रधानमन्त्री ओलीले बताए । ‘यहि सरकार पाँच वर्ष सम्म टिक्छ, अर्काे निर्वाचन गराएर नयाँ सरकार बन्छ तर कस्तो सरकार बन्छ अहिले नै भनेर नर्तसाउँ’–उनले भने ।

हेस्टरले उच्च प्रविधिको प्रयोग गरेर कुखुरा, बाख्रा तथा अन्य पशुपंक्षिको भ्याक्सिन उत्पादन शुरु गरेको छ । बार्षिक १.२४ विलियन डोज लाईभ र सक्रिय भ्याक्सिन उत्पादन गर्ने उक्त कम्पनीले आईविडी प्लस एनडि किल्ड र एफवन रानी खत नामक भ्याक्सिन विक्री गरिसकेको छ । भारतबाट आयात भन्दा ४० प्रतिशत कम मुल्यमा उक्त भ्याक्सिन बजारमा उपलब्ध छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी मैत्री कानूनहरु निर्माण गर्न संसदमा कानुनहरु पेश भएको बताए । बैक र उद्योग नीजि क्षेत्रकै भएकाले सरकारले हात नहालेको बताउँदै तत्काल ब्याजमा परिवर्तन गरी उद्योगमैत्री बन्न राष्ट्र बैक मार्फत निर्देशन दिएको अर्थमन्त्री खतिवडाले बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले नीजि क्षेत्रले स्थायी सरकारका कारण लगानी मैत्री वातावरण पाएको बताईन् । सम्वृद्ध नेपालका लागि मुलुकमा नीजि क्षेत्रले रोजगार र उत्पादन मार्फत योगदान पु¥याउने बताईन् । उद्योगका प्रवन्ध निर्देशक राजीव गान्धि, कार्यकारी निर्देशक शेखर गोल्क्षा लगायतले उद्योगले नेपाललाई भ्याक्सिनमा आत्मनिर्भर बनाई ९५ प्रतिशत उत्पादन निर्यात गर्न सक्ने बताए ।

खोला मिचेर उद्योग
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गराईएको उक्त उद्योगले खोलो मिचेर भवन निर्माण गरेको छ । स्थानीयहरुले पटक पटक विरोध गर्दा समेत कम्पनीले हेपेर, पेलेर खोलामै पर्खाल लगाएको स्थानीयले बताए । १८ मिटरको खोलालाई ५ मिटर कायम गर्दै कम्पनीले खोलामै वाल निर्माण गरेको हो । गाउँ विकास समिति हुँदै संयन्त्र मार्फत निर्माण अनुमति पाएको कम्पनीले खोलो मिचेको विषयले प्राथमिकता पाउन सकेको छैन ।

अझ कम्पनी उद्घाटनको केहि दिन अघि उग्रचण्डी गाउँपालिका भनेर निमन्त्रणा गरिएको थियो । बनेपा नगरपालिका वडा नम्वर ३ मा पर्ने उक्त उद्योग कहाँ पर्छ समेत कम्पनीलाई जानकारी नभएको भन्दै स्थानीयले आलोचना गरे । वाल सहित खोलामा पुल निर्माण गरी खोला माथी नै उद्योगको गेट निर्माण गरिएको छ । प्राकृतिक सम्पदालाई मिचेर उद्योग निर्माण गर्ने कम्पनीको हेपाहा प्रवृत्ति अन्त्य गर्न र खोला संरक्षण गर्न स्थानीयले वडा कार्यालयलाई अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीका बक्तब्य पहिल्यै
प्रधानमन्त्री कार्यक्रम स्थलमा नपस्दै प्रधानमन्त्रीको मन्तब्य सहितको पर्चा वितरण गरिएको थियो । फागुन १ गते आयोजना गरिएको कार्यक्रममा माघ २९ गते नै प्रधानमन्त्री लगायतका अतिथीहरुले मन्तब्य राखेको भन्दै पर्चा वितरण गरिएको थियो ।