जनवरीमा २५ प्रतिशत पर्यटक बढे

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल भ्रमण गर्न पर्यटकको संख्या सन् २०१८ को तुलनामा २५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को जनवरीमा ९१ हजार ७ सय ९३ जनाले भ्रमण गरेसँगै गत वर्षको तुलनामा पर्यटक आगमनको संख्यामा वृद्धि भएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार ७७ हजार ३ सय जना हवाई मार्गबाट र १४ हजार ४ सय ९३ स्थलमार्ग हुँदै नेपाल भ्रमण गरेका छन् ।

यस अवधिमा १४ हजार ६ सय ५० भारतीय, १३ हजार ६ सय ८८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या सन् २०१८ को सोही अवधिमा क्रमशः २० दशमलव ६ र १४ प्रतिशतले वृद्धि भएको छ । बोर्डका अनुसार थाइल्यान्डबाट ६९ दशमलव ८, जापानबाट ३८ र दक्षिण कोरियाबाट ८ दशमलव प्रतिशतले वृद्धि भएको जनाएको छ ।

भारत र चीनपछि अर्को प्रमुख पर्यटन स्रोत बजार युरोपबाट पनि आशालाग्दो सुधार रेकर्ड गरिएको छ । गएको महिना युरोपबाट आएका ११ हजार ९ सय ६६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो अघिल्लो वर्षको तुलनामा औसत २० प्रतिशतको वृद्धि हो ।

यसरी युरोपबाट गत वर्षको तुलनमामा २० प्रतिशतले वृद्धि भएर करिब १२ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । अमेरिकाबाट २८ दशमलव १ प्रतिशतले वृद्धि भएर ७ हजार बढी र अस्ट्रेलियाबाट ३१ दशमलव ३ प्रतिशतले वृद्धि भएर ३ हजार ५ सयभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।