‘क्रिमिनल डेमोक्रेसी’ मा जनताले अझै दुःख पाउँछन्: अध्यक्ष निरौला

0
Shares

काठमाडौं ।
नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले भोलिको दिनमा झन् बढी दुःख पाउने बताउनुभएको छ ।
वर्तमान शासनसत्ता, संसदीय प्रणाली र यस्तैखाले राजनीति रहिरहने हो भने जनताले आफ्ना गुनासा राख्न पनि नपाउने दिन आउने दावी गर्नुभएको छ । पार्टीले आज आफ्नै कार्यालय अनामनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष निरौलाले संघीयता र धर्म निरपेक्षताको खारेजीको लागि आव्हान गर्नुभएको छ ।

‘वर्तमान राजनीतिक संस्कार गलत छ, यस्तै परिपाटी रहिरहँदा देश नै संकटमा पर्छ’ अध्यक्ष निरौलाले भन्नुभयो ‘ अहिले प्रजातन्त्र, समाजवाद र न्याय हराएको छ यसको खोजी गर्ने काम हाम्रो हो ।’ संघीयताले समाज, सुरक्षा र भूगोलको विगठन गर्ने भन्दै पार्टीले आफूहरुका माग सरकारलाई सुनाउन पनि पत्रकार सम्मेलन गरेको जनाएको छ । ‘सरकारले हाम्रो आवाज सुनेन, ज्ञापनपत्र दिन खोज्दा पनि भेट पाएनौं र हुलाकबाट पठायौं’ अध्यक्ष निरौलाले भन्नुभयो ‘ अब यसरी नै हामीलाई बेबास्ता गर्दै जाने हो भने जस्तोसुकै आन्दोलन पनि गर्न तयार छौं ।’

पार्टीका वरिष्ठ नेता वर्तमान राजनीतिक दलहरुले लोकतन्त्र समाप्त गरेको आरोप लगाउनुभयो । उहाँले सरकारको गराई र भनाइमा फरक भएकाले जनताले खवरदारी गर्नुपर्ने बेला भएको बताउनुभयो । ‘कम्युनिस्टको इतिहास गतिलो छैन हिजो दिनदहाडै गाउँ लुट्थे उनीहरु, कतिपटक हामीले नै लखेट्यौं’ यादबले भन्नुभयो ‘ सरकार तानाशाही बन्दै गएको छ, जनता पीडित बनेका छन् त्यसैले पनि सबै एकजुट भएर प्रतिकार गर्नुपर्ने बेला भएको छ ।’

पार्टीका केन्द्रीय सदस्य प्रकाश पाण्डेले सरकारले युवालाई देशमै राखेर रोजगारको वातावरण सिर्जना गर्न नसक्दा अर्थतन्त्रमा सुधार हुन नसकेको बताउनुभयो । ‘सरकार युवालाई विदेश पठाउँदा खुशी मान्छ, भएका कलकारखाना पनि बेचेर खाए, विदेशिएका युवालाई नेपाल ल्याउनका लागि पहल गर्नुपर्छ ’ पाण्डेले भन्नुभयो ‘ सरकारले विदेशिएको तथ्यांक ढाँटेको छ, ९५ हजारभन्दा विदेशिएका छन्, देश सिध्याउने खेल भइरहेको छ ।’

यूवा संगठनका संयोजक कैलाश चौलागाइले पछिल्लो समयमा आशा लाग्ने कुनै पनि काम नभएको बताउनुभयो । ‘देश अहिले काण्डैकाण्डमा फसेको छ, विपक्षीको भूमिका पनि प्रभावकारी भएन, देश बचाउने जिम्मा युवाको काँधमा छ’ चौलागाइले भन्नुभयो ।