भारत लैजान लागेका १८ बालबालिकाको उद्धार

0
Shares

हेटौंडा, (नेस)
अवैध तरिकाले भारत लैजान लागिएको अबस्थामा प्रहरीले १८ बालबालिकालाई हेटौंडाको बसपार्कबाट उद्धार गरेको छ । मकवानपुरका विभिन्न स्थानमा बसोबास गर्ने ७ बालिका र ११ बालकलाई कानुनी प्रक्रिया नपु¥याइ भारतको कालिङ्पोङमा लामा पढ्न लैजान लागिएको अबस्थामा उद्धार गरिएको हो ।
काँकडभिट्टा चल्ने ना ६ ख १५२० नम्बर यात्रुबाहक बसमा राखिएका उनीहरुलाई उद्धारपछि अभिभावकको जिम्मा लगाइएको छ । मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–१ बस्ने वर्ष १८ का सांगे मुक्तान र मकवानपुरको बागमती गाउँपालिका–८ बस्ने वर्ष २४ का सोनाम दोर्जेलामाले लैजाने प्रयास गरेको अबस्थामा प्रहरीले बुधबार राति करिब ७ बजे उद्धार गरेको हो ।
उद्धार गरिएका बालबालिका अभिभावकको स्वीकृति लिएर लैजान लागेको देखिए पनि अन्य कानुनी प्रक्रिया पु¥याएको नदेखिएकोले माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया लामा, जिल्ला सेवाकेन्द्र प्रमुख बिन्दा बर्तौला र सिविन बाल हेल्पलाइन मकवानपुर कार्यक्रम संयोजक सम्झना अधिकारीको रोहवरमा आआफ्ना अभिभावकलाई जिम्मा लगाएर घर फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएकामध्ये एक बालकको अभिभावक बिहीबारसम्म सम्पर्कमा नआएकोले अभिभावकको खोजीपश्चात् फिर्ता गर्ने गरी सिविन बालहेल्पलाइन मकवानपुरमा संरक्षणमा राखिएको छ । बालबालिका लैजान खोज्ने मुक्तान र दोर्जे लामालाई आवश्यक सोधपुछपश्चात् आफन्तको जिम्मा÷जमानीमा छाडिएको छ ।
अधिकांश अभिभावकले नजिकको मान्छेले लामा बनाइदिन्छु भनेपछि विश्वास मानेर पठाएको बताएका छन् । घरमा खेलेर बस्ने भएकोले टाढै गएर पढ्लान् भनेर पठाइएको बताइन्छ । पढ्न पठाउन भनेपछि छोरो उनीहरुको जिम्मा लगाइएको अभिभावकको भनाइ छ ।
कतिपयले भने बच्चाबच्ची धेरै भएको र पढाउन समस्या भएकोले भारतमा पठाउन खोजेको बताएका छन् । तर, कहाँ लैजान लागिएको हो भन्ने थाहा उनीहरुलाई भएन ।