बैतडीमा भारी हिमपात

0
Shares

विनोदसिंह विष्ट, बैतडी
बैतडीका उच्च लेकाली क्षेत्रमा यो बर्ष पाँचौं पटक हिमपात भएको छ । माघ दोश्रो साता भएको हिमपात पग्लन नपाउँदै फेरी हिमपात हुँदा यहाँको जनजीवन कष्टकर भएको छ । जिल्लाका सतबाँझ, खोड्पे,श्रीभावर, ग्वाल्लेकधुरा, सिगासधुरा, जित्कीजुँवाड, ढोले, भञ्ज्याङ लगायतका क्षेत्रमा बिहीबार राती हिमपात भएको स्थानीयबासीहरुले बताएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

बिहीबार बिहानैदेखि पानी परेको र राती हिमपात भएको सतबाँझका स्थानीय देवदत्त भट्टले बताए । उनले भने ‘हिमपातका कारण बाहिर निस्कन मुस्कील भएको छ । हिमपताले निकै चिसो बढाएको छ ।’

हिमपातले स्थानीयहरुलाई दैनिक कामकाज गर्न अप्ठ्यारो भएको श्रीभावरकी मानमती साउँदले बताइन् । उनले भनिन् ‘पहिला परेको हिउँ पग्लन नपाउँदै फेरी हिमपात हुँदा जनजीवन कष्टकर भएको छ । वस्तुभाउका लागि समेत समस्या भएको छ ।’

सिगास गाउँपालिका बेडल्धुरा,सिगासधुरा लगायतका क्षेत्रमा भारी हिमपात भएको स्थानीय भानसिंह धामीले बताए । उनले भने ‘पहिला परेकै हिमपात पग्लेको थिएन् । फेरी हिमपात हुँदा यहाँको जनजीवन निकै कष्टकर भएको छ ।’

हिमपातका कारण सिगास गाउँपालिकाको केन्द्र गर्जे पुग्ने बाटो नै अवरुद्ध भएको सिगास गाउँपालिका गाँजरीका गोविन्दसिंह धामीले बताए । उनले भने ‘पहिलाकै हिउँ दुईतीन फिट बाँकी थियो । फेरी हिमपात हुँदा आवतजावतमै समस्या भएको छ । गाउँपालिकामा केही काम परेपनि जान सक्ने अवस्था छैन् ।’

हिमपातका कारण बाहिर निस्कन नै मुस्कील भएको स्थानीय व्यापारी लालसिंह धामीले बताए । उनले भने ‘यो बर्ष करीब दशबर्षपछि यसरी हिमपात भयो । हिमपातले बालबालिकाहरुलाई विद्यालय जान समेत मुस्कील भएको छ ।

विद्युत सेवा अवरुद्ध
बिहीबार बिहानैदेखि भएको बर्षा र हिमपताले विद्युत सेवा समेत अवरुद्ध भएको छ । डडेल्धुराको स्याउलेमा समस्या आएका विद्युत सेवा प्रवाह हुन नसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख मोहन जोशीले बताए । उनले भने‘हावाहुरी, बर्षा र हिमपातलेविद्युत सेवा प्रवाहमा समस्या आएको छ । मौसममा सुधार आएपछि बिग्रेको ठाउँमा मर्मत गरेर विद्युत सेवा सुचारु हुनेछ ।’
यसैबीच बिहीबार बर्षासंगै परेको चट्यांगले शिवनाथका हरिचन्दको भैसी मरेको छ । दिउँसो साढे १२ बजेतिर परेको चट्यांगले चन्दको गोठमा बाँधेको भैसी मरेको प्रहरीले जनाएको छ । बेलाबेलामा हिमपात र हिउँदे बर्षा हुँदा बैतडीका किसान खुसी भएका छन् ।