पर्साको ठोरीमा अब हात्तीबाट सफारी

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुधवारदेखि पर्साको ठोरीमा हात्ती सफारी शुरू भएको छ ।
ठोरी गाउँपालिका–५ सुवर्णपुरका वडा अध्यक्ष रामबहादुर पाख्रीनले सुवर्णपुरचोकबाट हात्ती चढेर हात्ती सफारीको शुरुआत गरेका हुन् । पर्सा राष्ट्रिय निकुञ्जले पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रमणीय पर्यटकीय स्थल घुम्नका लागि दुईओटा हात्ती उपलब्ध गराएसँगै जिल्लाको ग्रामीण क्षेत्रमा पहिलोपटक हात्ती सफारीको शुरूवात भएको हो । ३।३ जनागरी ६ जनाले दुईओटा हात्तीमा चढेर पर्सा राष्ट्रिय निकुञ्जको रमणीय स्थलहरूको आनन्द लिन सक्ने व्यवस्था भएको सुनाखरी उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहालले जानकारी दिए ।
वडा अध्यक्ष पाख्रीनले शुरूआत गरेको हात्ती सफारीको पहिलो दिन स्थानीय र काठमाडौंका समेत छजना युवाले हात्ती चढेर निकुञ्ज घुमेका छन् । पहिलो दिन हात्ती सफारी गर्नेमा विमल प्रधान, कमला पौडेल, विकास मोक्तान, तेज लामालगायत रहेको उपभोक्ता समितिका सचिव जीवन श्रेष्ठले बताए । हात्ती चढेर राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको रमणीय स्थलको अवलोकन गर्न सकिने दाहालले बताए । सुवर्णपुर चोकदेखि हात्ती चढेर गडवाल पोस्ट, राभौरीभाटामा रहेको घाँसे मैदान अवलोकन गर्न सकिने उनले बताए ।

हात्ती सफारीको माध्यमबाट रातोमाटे देउराली, सिर्जना, पञ्चमुखी लगायत मध्यवर्ती सामुदायिक वनको समेत अवलोनक गर्न सकिने उनले बताए । पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गइरहेको ठोरीलाई केन्द्रमा राखेर हात्ती सफारी शुरूआत भएकोले पर्सा राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्या वृद्धि हुने दाहालले विश्वास व्यक्त गरे ।हात्ती सफारीका लागि सुनाखरी मध्यवर्ती उपभोक्ता समितिले समन्वय गरेको छ । बाराको अमलेखगंजबाट हात्ती सफारीको व्यवस्था गर्दै आएको निकुञ्जले ठोरीको तामाङ समुदायले सञ्चालन गरेको होमस्टे क्षेत्रबाट पनि सफारीको शुरूआत गरेको हो ।