गौशालामा धमाधम गाई मरे

0
Shares

नेपाल समाचारपत्र, बाँके
हिन्दु धर्म मान्नेहरु गाईको पूजा गर्छन् । गाईलाई ‘माता’ नै मान्छन् । ठाउँठाउँमा ‘गाई बचाऊ’ अभियानहरु चलेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले पनि गाई बचाउन बिर्तागाउँमा गौशाला निर्माण गरेको छ । साढे चार विगाह जमिनलाई तारबार गरेर गौशाला निर्माण गरिएको छ । माघ १४ गतेदेखि त्यहाँ गाई राख्न शुरु गरिएको छ ।

बिडम्बना त के छ भने त्यहाँ दैनिक नै गाई मरिरहेका छन् । पछिल्लो हप्ता भएको चिसो र खानाको उचित प्रवन्ध नहुँदा गाई मरिरहेका हुन् । बिर्ताका स्थानीय तिर्थराज कोरी अहिलेसम्म १६ वटा गाई मरिसकेको बताउँछन् । दैनिक नै गाई मर्न थालेपछि गौशाला नजिक रहेको रामजानकी मन्दिरका पुजारी हरद्वार गडरिया दुःखी भएका छन् । वर्षौदेखि रामजानकी मन्दिरमा पूजा गर्दै आएका पुजारी गडरियाले स्थानीय बासिन्दालाई गाई बचाइदिन आग्रह गर्ने गरेका छन् । ‘अस्ती पुजारी गडरिया मकहाँ रुदै आउनु भयो । उहाँ दैनिक गाई मर्दा साह्रै दुःखी हुनु भएको छ, बिर्ताका स्थानीय बासिन्दा तिर्थराजले भने ।

नेपालगञ्ज उपमहानगरपालिकाका निरीक्षण शाखाका पवन कनोजियाले दश दिनमा आठ वटा गाई मरेको पुष्टि गरे । उनका अनुसार, अहिले त्यहाँ ६२ वटा गाई रहेका छन् । ‘हामीले तीन जना व्यक्तिलाई खटाएर खानाको राम्रो प्रवन्ध गरेका छौं, तर पनि चिसोले गर्दा दश दिनमा आठ वटा गाई मरेका छन्, कनोजियाले भने ।

यी गाई यसअघि सीमावर्ती गाउँ टंकपसरीमा राखिएको थियो । खुल्ला सीमाना रहेकाले प्रायः भारतबाट आएका हुन् । गाउँलेले लगाएको बाली खाइदिएपछि नेपालगञ्ज उपमहानगरपालिकाकै सहयोगमा एक महिनादेखि टंकपसरीमा गाई राखिएको थियो । १४ गतेदेखि बिर्तागाउँको गौशाला सञ्चालनमा ल्याइएपछि टंकपसरीमा राखिएको गाईलाई यहाँ ल्याएको थियो । नगरपालिकाले गाईको हेरचाह गर्न तीन जना खटाएको, पराल, भुस, पानीको प्रवन्ध गरेको जनाएको छ । यद्यपि, त्यहाँ नगरपालिकाले भनेजस्तो राम्रो प्रवन्ध छैन । पराल थुपारिएको छ । गाईले त्यही खान्छन् । जाडोले गर्दा गाई मरिरहेका छन् । बचेका पनि राम्रो स्याहार नहुँदा अति नै दुब्ला छन् ।

वनकट्टीका राजेन्द्र विकले भने, बिर्तामा रहेको गौशालामा खाना नपाएर दैनिक गाई मरेका छन् । गाईको नाम बेचेर राजनीति गर्नेहरुले त्यता कहिले ध्यान दिने ?’ विकको भनाई नेपालगञ्जका मेयर धवलशमशेर राणाप्रति लक्षित थियो । राणा राप्रपाका नेता हुन् । अनि, राप्रपाले हिन्दु राष्ट्रको वकालत गर्दै आएको छ ।