प्रतिष्ठान र कर्मचारीबीच एघार बुँदे सहमति

0
Shares

२६ दिनपछि काममा फर्किए कर्मचारी
नरेन्द्र केसी, दाङ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र आन्दोलनरत कर्मचारीबीच ११ बुँदे सहमति भएको छ । यो आन्दोलनसँगै २६ दिनपछि कर्मचारी काममा फर्किएका छन् । उनीहरु पुस ३० गतेदेखि काम रोकेर आन्दोलनमा उत्रिएका थिए ।

स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादब नेतृत्वको मन्त्रालयबाट आएको टोलीले दुबै पक्षबीच सहमति गराएको हो । कर्मचारी आन्दोलन निकै लामो बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. यादबको नेतृत्वमा विबाद समाधानका लागि टोली विहिबार घोराहीमा आएको थियो । आन्दोलनरत कर्मचारी, प्रतिष्ठान, स्थानिय सरकार, जिल्ला प्रशासन, नागरिक समाज र प्रतिष्ठान सरोकार समितिका पदाधिकारीहरु सँग छलफल पछि राज्यमन्त्री यादव सहितको टोली कर्मचारी र प्रतिष्ठान बिच ११ बुँदे सहमती गराएपछि कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

साविक राप्ती उपक्षेत्रिय अस्पताल विकास समितिका सबै कर्मचारीहरुलाई प्रतिष्ठानको समानस्तर र तहको पदमा शर्त, बन्देज र सेवा सुबिधा लागुहुने गरी प्रतिष्ठानमा समायोजन गर्ने पहिलो बुँदामा सहमति भएको छ । त्यसैगरी, प्रतिष्ठानकै ऐन नियम अनुसार करार सम्झौता हुने, हाल सम्म भुक्तानी हुन बाँकी तलब भत्ता यथाशिघ्र प्रतिष्ठानले भुक्तानी गर्ने, प्रतिष्ठानको लोक सेवा आयोगबाट स्थायी पदपूर्ती पश्चात श्रेणी बिहिन कर्मचारी बाहेकका अबकाश हुने कर्मचारीले कुनै माग र आन्दोलन गर्न नपाउने सहमति भएको छ । साथै श्रेणिबिहिन र ज्यालीदारी कर्मचारीहरुको सेवा अबधी तेस्रो पक्षबाट नल्याए सम्म र ल्याउनु पर्ने देखिए हालकै कर्मचारीहरुलाई राख्ने, प्रतिष्ठानले आगामी असार मसान्त सम्म स्थायी पदपूर्तीको प्रकृया अघि बढाउने र हाल कार्यरत कर्मचारीहरुलाई एक महिनाको सूचना दिई प्रतिष्ठानले अबकाश दिने सहमती पत्रमा उल्लेख छ ।

त्यसैगरी प्रतिष्ठानले करार तथा ज्यालादारी कर्मचारीलाई आबस्यकता अनुसार काममा खटाउने, सेवाबाट बर्खास्तमा परेका हिमराज गौतमलाई हाल तीन महिना र ठगुराम भण्डारीलाई एक महिनाको करार म्याद थप गर्ने र ज्यालादारी कर्मचारीको हकमा मासिक ज्यालादारीको सम्झौता गर्ने सहमति भएको छ । प्रतिष्ठान र कर्मचारीहरु बिच सहमति भएपछि शुक्रबार देखी कर्मचारी काममा फर्किएका छन् । सहमति पत्रमा प्रतिष्ठानका उपकुलपती डा. संगिता भण्डारी, आन्दोलनर कर्मचारीहरुका तर्फबाट संघर्ष समितिका संयोजक हिमलाल गौतम, रोहबरमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र कानुन मन्त्रालयका उपसचिब बिनोदकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।
प्रतिष्ठानमा साबिक उपक्षेत्रिय अस्पताल विकास समितिका ६२ बढी कर्मचारीहरुले पेशागत सुरक्षा र तलबभत्ताको माग गर्दै पुस ३० गते देखी काम रोकेर आन्दोलनमा उत्रिदा उपचार सेवा प्रभावित भएको थियो । कर्मचारीको आन्दोलन लम्बीदै जाँदा उपचार सेवा अबरुद्ध भएपछि राज्यमन्त्र यादबको नेतृत्वमा बिशिष्ठ श्रेणीका प्रमुख बिशेषज्ञ डा. सुशील प्याकुरेल, सहसचिब मधुसुदन बुर्लाकोटी र कानुन मन्त्रालयका उपसचिब बिनोदकुमार भट्टराई दाङ आउनुभएको हो ।