सवारीको प्रदूषण परीक्षणमा आकर्षित भएनन् सेवाग्राही

0
Shares

कृष्ण आचार्य, भरतपुर
चितवनमा सवारी साधनको प्रदूषण परीक्षणको व्यवस्था गरिए पनि सेवाग्राही आकर्षित भएका छैनन्। यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले सवारी साधनको प्रदूषण परीक्षण गर्न शुरू गरेको एक महिनाको अवधिमा जम्मा ३० वटा सवारी साधनको प्रदूषण परीक्षण गरेका छन्।

गत पुस २३ गतेदेखि कार्यालयले पेट्रोलबाट चल्ने सरकारी तथा निजी सवारी साधनको प्रदूषण परीक्षण गर्न शुरू गरेको थियो। ‘सेवा थप भएपछि हामीलाई भ्याइनभ्याई हुन्छ भन्ने लागेको थियो’, यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख देवीप्रसाद आचार्यले भन्नुभयो– ‘तर दिनमा एक/दुई जना मात्रै सवारी साधनको प्रदूषण परीक्षणका लागि आउने गरेका छन्।’ जिल्ला प्रशासन कार्यालयमा नियमित हुने कार्यालय प्रमुखहरूको बैठकमा समेत सबै कार्यालयको सवारीसाधनको अनिवार्य प्रदूषण परीक्षण गराउन भनिए पनि कार्यान्वयन नभएको उहाँले बताउनुभयो।

‘हामीले सोचेकोभन्दा निकै कम मात्रामा प्रदूषण परीक्षणका लागि आउने गरेका छन्’, उहाँले भन्नुभयो– ‘ट्राफिकले कारबाही शुरू नगरेसम्म कार्यान्वयन हुन गाह्रो छ।’ प्रदूषण परीक्षण गराएका सवारी साधनमा हरियो स्टिकर टाँस गर्ने गरिएको छ। प्राविधिक र कर्मचारी अभावका कारण डिजेलबाट चल्ने गाडी प्रदूषण परीक्षण शुरू गर्न नसकिएको उहाँले बताउनुभयो।

२४ करोड बढी राजस्व संकलन
यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले चालू आर्थिक वर्षको छ महिनामा २४ करोड ४७ लाख ५ हजार ५ सय ६० रुपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले सवारी कर, आयकर, रुट परमिट र विविध शीर्षकमा राजस्व संकलन गरको हो। सवारी करमा १९ करोड ७८ लाख ३० हजार ६ सय ३५ रुपियाँ, आयकरमा १ करोड १४ लाख ४२ हजार १ सय ५५ रुपियाँ, रुटपरमिटमा २ करोड ७९ लाख ७४ हजार ३ सय १५ रुपियाँ र विविधतर्फ ७४ लाख ५८ हजार ४ सय ५५ रुपियाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख देवीप्रसाद आचार्यले जानकारी दिनुभयो।

गतवर्षको राजस्व संकलनका आधारमा यसवर्ष यो अवधिमा ५० करोड संकलनको लक्ष्य राखिएकोमा २४ करोड मात्रै संकलन गरिएको हो। कार्यालयका सेवा सुविधा प्रादेशीकरण भएका कारण राजस्व संकलनमा कमी आएको आचार्यको भनाइ छ।