पर्वतमा छ करोडको सुन्तला उत्पादन

0
Shares

नेपाल समाचारपत्र, पर्वत
पर्वतका कृषकहरूले यसवर्ष करिब छ करोडको सुन्तला बिक्री गरेका छन्। सुन्तला उत्पादनको पकेट क्षेत्र जलजला–१ बाँसखर्क, फलेवास नगरपालिका–१० कुर्घा र पाङराङ, मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ।

बाँसखर्कबाट साढे २ करोड, देउपुरबाट १ करोड, फलेवासबाट साढे १ करोड र महाशिला गाउँपालिकाबाट १ करोडको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। गत वर्षको तुलनामा सुन्तलाको क्षेत्रफल विस्तार र मूल्य बढेका कारण यस वर्ष कृषकले राम्रो मूल्य पाएको कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो। जलजला गाउँपालिका–१ बाँसखर्कका २ सय ६१ घरमध्ये २ सय बढी घरपरिवारले व्यावसायिकरूपमै सुन्तला खेती गरेका छन्।

पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यावसायीकरण, सुन्तलामा लाग्ने रोग किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन वर्षेनी बढ्दै गएको कृषक भक्तबहादुर पाइजाले बताउनुभयो। अहिले बोटमै सयदेखि १ सय २० रुपियाँ प्रतिकिलोको दरमा सुन्तला बिक्री भएको पाइजाले बताउनुभयो। देउपुरका करिब ७० परिवारका किसानले व्यावसायिक सुन्तला उत्पादन गर्छन्। अघिल्ला वर्षहरूमा मंसिरमै सुन्तला बिक्री गर्ने देउपुरका किसानले यो वर्ष माघको पहिलो सातामा मात्रै सुन्तला टिपे। यो सिजनमा देउपुरबासीले ७० देखि ९० रुपियाँ प्रतिकिलोमा बिक्री गरेको अगुवा कृषक दाताराम चापागार्इंले जानकारी दिनुभयो। त्यस्तै फलेबास नगरपालिकाको पाङराङ, कुर्घालगायतबाट समेत करिब एक करोडको सुन्तला बिक्री भएको किसानहरूले बताएका छन्।

पाङराङका किसान तारालाल कुँवरका अनुसार कर्नास र पाङराङका करिब सय परिवारले व्यावसायिकरूपमा सुन्तलाको खेती गर्दै आएका छन्। त्यस्तै महाशिला गाउँपालिका–२, ३ र ४ का भोक्सिङ, पाखापानी र बालाकोटमा पनि यो वर्ष करिब एक करोडको सुन्तला उत्पादन भएको छ। भोक्सिङका जितबहादुर गुरुङका अनुसार सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानहरूले सुन्तला उत्पादक कृषि सहकारीसमेत स्थापना गरेका छन्। बाँसखर्कका किसानले बजारमारे सुन्तला उत्पादन सहकारी र देउपुरका किसानले माछापुच्छ«े सुन्तला उत्पादक कृषि सहकारी स्थापना गरेका छन्।

सहकारीको आम्दानी बढाउन प्रतिकिलो २ देखि १० रुपियाँ सहकारीका लागि छुट्याइने गरेको कृषकहरूले बताए। त्यसबापत भएको आम्दानीबाट सुन्तला खेती विस्तार, आवश्यक मेसिन र उपकरण खरिद तथा रोगकिराविरुद्धको उपचारमा खर्च गर्दै आएका छन्। सुन्तलाको खेती विस्तार गर्न चालू वर्षदेखि बाँसखर्क सुन्तला जोन क्षेत्रमा परको छ। बाँसखर्कसहित म्याग्दी र बाग्लुङका केही स्थानीय तह समेटिएको जोन एकाइ कार्यालय म्याग्दीका प्रमुख बमबहादुर थापाका अनुसार बाँसखर्कमा सुन्तलाको खेती विस्तार गर्ने कार्यक्रम यसै वर्षदेखि शुरू भएको छ। फलेवासको पाङराङ र कुर्घा, मोदी गाउँपालिका–२ देउपुर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट क्षेत्रमा समेटिएका छन्।