चारलेन सडकमा खोई प्रतीक्षालय ?

0
Shares

नेपाल समाचारपत्र, बाँके
यात्रुले चोक–चोकमा उभिएर नगर बस चढ्छन्। हिँड्दा थकाइ लागेमा बस्ने ठाउँ छैन। हिँड्दाहिँड्दै दुईजना साथी भेट भइहालेमा एकछिन प्रतीक्षालयमा बसेर गफ गरौं न भन्ने त झन् टाढाको कुरा भइहाल्यो। नेपालगन्जको मुख्य सडक चारलेनको भइसक्यो। भित्री सडक पनि चाक्ला भइसके। यात्रुको चाप पनि बढ्दो छ। यात्रु प्रतीक्षालय भने छैन।

नेपालगन्जको सुर्खेतरोड अनि सदरलाइनमा यतिबेला यात्रु प्रतीक्षालय अति आवश्यक भइसकेको छ। सुर्खेतरोडमा नगर बस कुर्नेदेखि अस्पतालको अगाडि केहीबेर सवारी साधन खोज्ने बेलासम्म बिरामीलाई बस्न पनि प्रतीक्षालय चाहिएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थित पार्किङदेखि आकाशे पुलको योजना अघि सारेको छ। त्योसँगै ठाउँ–ठाउँमा यात्रु प्रतिक्षालय राख्न जरुरी भएको छ। नगर बसले जहाँ पायो त्यही रोक्ने र यात्रु चढाउने गर्दछन्। त्यसले दुर्घटनाको खतरा बढाइरहेको छ। ठाउँ–ठाउँमा यात्रु प्रतीक्षालय बनाएर त्यही नगरबस रोक्ने व्यवस्था गर्दा दुर्घटनाको जोखिम कम हुन सक्छ।

नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल भन्छन्, सुर्खेतरोड र सदरलाइनको ठाउँ–ठाउँमा यात्रु प्रतीक्षालय र ट्राफिक बुथ राख्ने तयारी गरिरहेका छौं। उनका अनुसार, यतिबेला नगरपालिकाको टोलीले कहाँ–कहाँ प्रतीक्षालय र ट्राफिक बुथ राख्दा उचित हुन्छ भनेर हेर्दै हिँडेको छ।

सूचना अधिकारी पौडेलले २० वटा यात्रु प्रतीक्षालय र ११ वटा ट्राफिक बुथ राख्ने कुरा भएको बताए। राँझा चोकदेखि ट्राफिक चोक र सदरलाइनको चारबाहिनीदेखि त्रिभुवन चोकसम्म सम्भावित ठाउँ हेर्ने काम भएको छ।

नगरपालिकाले ‘पीपीपी मोडल’ मा यी कामहरू गर्दै छ। यो मोडेलमा जादा निजी संघसंस्थाले पनि अपनत्व लिन्छन्।
विसं।२०१७ सालमा नगरपालिका बनेको नेपालगन्ज बजारमा अव्यवस्थित बसोबास रहेको छ। पछिल्लो दिनमा व्यवस्थित गराउने प्रयास भइरहेको छ। जनसंख्या दिन प्रतिदिन बढ्दो छ। व्यवस्थित बजारका लागि पार्किङदेखि प्रतिक्षालयसम्म आवश्यक परिसकेका छन्। जनताको चाहनाअनुसार सडक चाक्ला बन्दै छन्। सूचना अधिकारी पौडेलले आवश्यकताअनुसार नयाँनयाँ संरचना बनाउने काम भइरहेको बताए।