नेपाल समाचारपत्र, विराटनगर
प्रदेश सरकारले समृद्ध प्रदेश हरित अभियान घोषणाका लागि तयारी अघि बढाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २९ गते प्रदेश १ मा हरित अभियान घोषणा गर्नका लागि तयारी गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा तयार पारेको हरित अभियानसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २६ गते सुनसरीको चतारामा उद्घाटन गर्ने तारकब्रम्ह महायज्ञसँग जोडेर हरित अभियान शुरु गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताए। प्रदेश १ का प्रमुख सचिव केदार न्यौपानेले सरकारको तर्फबाट अभियानलाई अघि बढाउने जनाइएको छ।
बराहक्षेत्र चताराधामस्थित जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका प्रमुख डा। श्रीवैष्णव कृष्णदासजी महाराजको नेतृत्वमा हुने तारकब्रम्ह महायज्ञका अवसरमा त्यस क्षेत्रमा अनेकौं प्रकारका जडीबुटीहरूका बृक्षरोपण हुने र त्यसैलाई प्रदेश सरकारले समेत अंगिकार गर्दै हरित अभियानलाई अघि बढाउने तयारी गरिएको जनाइएको छ।











प्रतिक्रिया