‘मदरसा शिक्षामा नयाँ आयाम’

0
Shares

सीताराम चौधरी, कपिलवस्तु
नगरक्षेत्रभित्रका मदरसाहरूको शैक्षिक एवं भौतिक व्यवस्थापनमा नयाँ आयाम ल्याउने कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले उद्घोष गर्नुभएको छ।

कृष्णनगर ३ स्थित नेपालकै सबैभन्दा पुरानो मदरसा जामिया सिराजुल उलूम अलसल्फियाको अनुगमनका क्रममा नगरप्रमुख शाहले यस्तो बताउनुभएको हो। अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शाहले मदरसामा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने बताउनुभयो। मदरसाहरूमा कक्षाकोठा, शौचालय, फर्निचरको अभावमा पठनपाठनमा निकै कठिनाइ देखिएको उनले दर्साए। मदरसा शिक्षाको आवश्यकता पहिचान गरी साताभित्रै आर्थिक व्यवस्थापन गर्ने नगरप्रमुख शाहले आश्वासन दिनुभयो। साथै मदरसाका लागि एकमुष्ट अनुदान रकमसमेत दिने गरिएको उहाँले जानकारी दिनुभयो।

जामिया सिराजुल उलूम अलसल्फियाका प्रवक्ता मौलाना मशहूद खाँ ‘नेपाली’ ले नेपालमा मदरसा शिक्षाले मान्यता नपाउँदा अल्पसंख्यक मुस्लिम समुदायले ठूलो समस्या बेहोर्नुपरेको गुनासो गर्नुभयो। मौलाना ‘नेपाली’ ले मदरसालाई पनि सरकारी सरह मान्यता दिनुपर्ने माग राख्नुभयो। कार्यक्रमका बीच राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष अब्दुलगनी अलकूफीले मदरसा बोर्ड स्थापनामा स्थानीय सरकार र प्रदेश सरकारले विशेष पहल गर्नुपर्ने माग गर्नुभयो। मदरसाका मौलानालाई कामकाज गर्न सहज बनाउन मदरसाहरूको सबै कागजात उर्दू भाषामा ल्याउनुपर्ने समेत अलकूफीले जिकिर गर्नुभयो।

कार्यक्रममा जामिया सिराजुल उलूम अलसल्फियाका अध्यक्ष मौलाना समीम अहमद नदवीले सामुदायिक विद्यालयसरह मदरसा विकासमा समेत स्थानीय सरकारले मान्यता दिनुपर्ने धारणा राख्नुभयो। हाल कृष्णनगर नगरपालिकामा २२ मदरसा दर्तामा रहेका छन्।

कार्यक्रममा मदरसाका युवा नेता तुफेल खान, कृष्णनगर नगरपालिका सूचना अधिकृत शाकिर शाह, जामिया सिराजुलका प्रधानाध्यापक मौलाना खुर्सीद शेख, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा।अब्दुलगनी अलकुफी, मदरसा संघ नेपालका केन्द्रीय सदस्य मौलाना जहीर अहमद बरेलवी, अन्य मदरसाका प्रधानाध्यापक, शिक्षकलगायतको सहभागिता रहेको थियो।
यसअघि प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, उपसचिव चिन्तामणि खनाल र इन्द्रमणि खनालसहितको टोलीद्वारा जामिया सिराजुल उलूम र आयसा सिद्दिकिया गल्र्स कालेजको अनुगमन गरेका थिए। मदरसा र गल्र्स कालेजको भौतिक, शैक्षिक अवस्थाको अनुगमनका साथै विद्यार्थीसँग समेत भेटघाट गरिएको बताइएको छ।