सुखाग्रस्त क्षेत्रमा ‘डिप बोरिङ’बाट खानेपानी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
इलाम र पाँचथरको सिमावर्ती घुर्बिसे पञ्चमी बजारमा डिप बोरिङ प्रविधिद्वारा खानेपानी निकालिएको छ। करिब १ हजार ९ सय मिटर उचाइमा रहेका सो क्षेत्रमा २ सय ६५ मिटर गहिराइसम्म बोरिङ गरी ६० एमएम पाइपमा आउने पानी निकाल्न चार दिन लागेको थियोे।
पाथीभरा सोलार एन्ड ड्रिलिङ कम्पनीले पाँचथरको फाल्गुनन्द र इलामको फाकफोकथुम गाउँपालिकाको ३० लाख रुपियाँको संयुक्त लगानीमा यस कामको थालनी गरेको उपभोक्त समिति अध्यक्ष तेजबहादुर चेम्जोङले जानकारी दिनुभयो। बजारीकरणसंँगै सुखाग्रस्त रहेको यस बजारमा खानेपानीको समस्यालाई सहज गर्न उक्त योजनाको शुरुआत गरिएको हो।

पानी तान्ने मोटर जडान गर्न थ्री फेज विद्युत्को लाइन विस्तार प्रक्रिया अघि बढेको र त्यसपछि पानी सुचारु गरिने समितिले जनाएको छ। योजना कतिको दीर्घकालीन बन्ला भने धेरैजसोलाई चिन्ता रहेको हुँदा काम गर्ने कम्पनीले १० वर्षसम्म आउने समस्याको जिम्मा लिएको कम्पनी सञ्चालक कृष्ण अधिकारीले बताउनुभयो। निरन्तर सञ्चालन हुन सके यस क्षेत्रमा बसोबास गर्ने मानिसलाई पिउने पानी सहजता हुने देखिन्छ।