सहकारीको संख्या घटाउनुपर्नेमा जोड

0
Shares

काठमाडौं, (नेस)
उपभोक्ता सहकारी संस्था क्रियाशील नभएकाले कृषकले उत्पादन गरेका तरकारीजन्य वस्तुले बजार नपाएको काठमाडौं महानगरपालिका सहकारी विभाग प्रमुख नमराज ढकालले बताउनुभएको छ। ढकालले महानगरभित्र करिब ५० वटा उपभोक्ता सहकारी भए पनि क्रियाशील नभएको बताउनुभयो। ‘सरकारी अभियानमा आफ्नो पसिनामा बाच्नुपर्नेछ भनिएको छ। तर, उपभोक्ता सहकारी क्रियाशील नहँुदा कृषकले उत्पादन गरेका तरकारीले उपयुक्त बजार पाएका छैनन्।’ –उहाँले भन्नुभयो।

‘काठमाडौंमा २५ रुपियाँभन्दा बढी मूल्य तिरेर उपभोक्ताले खरिद गरिरहेको बन्दागोभी तराईमा १ रुपियाँमा पनि बिक्री नभएर खेतमा नै नष्ट गर्नुपर्ने अवस्था छ। उपभोक्ता सहकारी क्रियाशील भएको भए यस्तो स्थिति आउने थिएन’, ढकालले भन्नुभयो– ‘त्यसैले सहकारीलाई विस्तार गर्दै जाने विभागको योजना रहेको छ।’ सञ्चालकको व्यवस्थापन फितलो भएका कारण सहकारी क्षेत्रमा समस्या बढेर गएको छ, यसलाई व्यवस्थापन गर्नका लागि विभाग लागिपरेको प्रमुख ढकालको भनाइ छ।

संख्यात्मक हिसाबले धेरै तर गुणस्तरीय सहकारी कम रहेको भन्दै विभागले चुस्त व्यवस्थापन र सहकारीको मर्म र भावनाअनुसार परिचालन नियमन गर्नका लागि हाल ठूलो संख्यामा रहेका सहकारी संस्था घटाउनुपर्ने ढकालको भनाइ छ। काठमाडौं महानगर कार्यक्षेत्र भएका १ हजार ८ सय ५६ वटा सहकारीमध्ये बचत तथा ऋण सहकारी संस्था १ सय ६ सय ४४ रहेका छन् यो संख्यालाई आधा घटाउनुपर्ने ढकालले बताउनुभयो।

१ हजार ८ सय ५६ सहकारीमा २ लाख सदस्यबाट करिब ७ अर्बको शेयर, ५२ अर्बको बचत परिचालन भएको छ भने करिब ४१ अर्ब कर्जा प्रवाह भएको विभागले जनाएको छ। हाल नेपालभर करिब ३५ हजार सहकारी संस्थामा करिब ६३ लाखमा ९३२ लाख महिला० सदस्य हरेका छन् भने यसबाट करिब ४ सय अर्बको आर्थिक कारोबार हुने गरेको विभागले जनाएको छ। नेपालको वित्तीय बजारको २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको करिब ५ प्रतिशत अंश सहकारी क्षेत्रको योगदान रहेको छ।