नेपाल–भारत वाणिज्य सन्धिका बारेमा छलफल हुँदै

0
Shares

काठमाडौं, (नेस)
नेपाल र भारतबीच वाणिज्य सन्धिका विषयमा साताको अन्त्यमा दुई पक्षीय छलफल हुने भएको छ। दुई देशको वाणिज्य सन्धिका विषयमा आउने २५ र २६ गते छलफल हुन लागेको हो। आयातमुखी अर्थतन्त्रमा रहेको नेपालले चुलिँदो व्यापारघाटा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा दुई देशबीच छलफल केन्द्रित रहने बताइएको छ।

समय सापेक्ष सन्धि परिमार्जन गर्दै नयाँ ढंगबाट अगाडि बढेर जाने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ। बैठकमा वाणिज्य सन्धिका प्राविधिकसहितका सबै सरोकारवाला निकायबीच पोखरामा छलफल गर्ने सरकारको तयारी रहेको छ।

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले गर्नुहुनेछ भने सात सदस्यीय भारतीय पक्षको नेतृत्व त्यहाँको वाणिज्य मन्त्रालयका सहसचिव भूपेन्द्र भल्लाले गर्नुहुनेछ। बैठकमा वाणिज्य तथा आपूर्ति, परराष्ट्र, अर्थ, मन्त्रालय तथा भन्सार विभाग र वाणिज्य विभाग दुई देशका प्रतिनिधिको समेत सहभागिता हुनेछ।

भारतसँगको व्यापारघाटा कम गर्न भन्सार नाकालाई आधुनिक प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने उद्योगी व्यवसायीले माग गर्दै आएका छन्। दुई देशबीचको वाणिज्य सन्धिसम्बन्धी वार्तालाई सरोकारवाला पक्षले निकै चासोका साथ हेरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच देखिएको व्यापारसम्बन्धी चुनौती समाधान गर्न सरकारले रणनीति र कूटनीतिक तवरबाट व्यावाहरिक विषयमा भारतसँग आवश्यक छलफल गर्ने तयारी गरिरहेको बताउनुभएको छ।