चुहावट नियन्त्रण गरेर प्राधिकरणले थप ७ अर्ब आम्दानी गर्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई उल्लेख्य मात्रामा घटाएको छ। प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिनामा विद्युत् चुहावट १५ दशमलव ४५ प्रतिशतमा सीमित भएको छ।

गत आर्थिक वर्षमा औसत विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत थियो। प्राधिकरणले चालू आवमा विद्युत् चुहावट १८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। प्राधिकरणले लक्ष्य पूरा गर्न धेरै विद्युत् चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको छ। प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्नेलगायतका योजना तीव्रताका साथ अगाडि बढाएको छ।

प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकैरूपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको बताउनुभयो।

‘चुहावट नियन्त्रणका लागि राति खटिंँदा हाम्रा कर्मचारीले पिटाइसमेत खाएका छन्।’
कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत् प्राधिकरण

‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत् चुहावट औसतमा २५ दशमलव ७८ प्रतिशत थियो। त्यसपछि आव २०७३÷७४ मा घटाएर २२ दशमलव ९ मा झा¥यौं, आव २०७४÷७५ मा २० दशमलव ४५ मा रहेको चुहावटलाई घटाएर चालू आवको ५ महिनामै १५ दशमलव ४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौं,’ उहाँले भन्नुभयो– ‘आवको बाँकी अवधिमा हाल रहेको चुहावटलाई अझै घटाउने गरी काम गरिरहेका छौं यस कार्यमा विशेषगरी वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी साथीहरूको भूमिका महŒवपूर्ण रहेको छ। चुहावट नियन्त्रणका लागि राति खटिंँदा हाम्रा कर्मचारीले पिटाइसमेत खाएका छन्।’

प्राधिकरणले करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपियाँ थप आम्दानी गर्नेछ। काठमाडौं क्षेत्रीय कार्यालयको गत वर्षको चुहावट ७ दशमलव ९४ प्रतिशत रहेकोमा चालू आवको ५ महिनामा घटेर ७ दशमलव ७९ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको छ। क्षेत्रीय कार्यालयअन्तर्गतको भक्तपुर वितरण केन्द्रको चुहावट दुई वर्षअघि करिब ४० प्रतिशत रहेकोमा अहिले घटेर १३ दशमलव ७२ प्रतिशतमा झरेको छ। लगनखेल वितरण केन्द्रको दुई वर्षअघि करिब १५ प्रतिशत रहेको चुहावट अहिले घटेर ६ दशमलव ४१ मा सीमित भएको प्राधिकरणको तथ्याङ्क छ।

यसैगरी हेटौंडा क्षेत्रीय कार्यालयको चुहावट १३ दशमलव ९१ प्रतिशत रहेकामा घटेर ६ दशमलव ६६ प्रतिशतमा झरेको छ। दुई वर्षअघि झन्डै ७० प्रतिशत चुहावट रहेको कलैया वितरण केन्द्रको अहिले घटेर ३९ दशमलव ९५ प्रतिशतमा झरेको छ। विराटनगर क्षेत्रीय कार्यालयको चुहावट १४ दशमलव ५१ प्रतिशत रहेकोमा घटेर ११ दशमलव ६१ प्रतिशतमा झरेको छ। १४ दशमलव १४ प्रतिशत चुहावट रहेको बुटवल क्षेत्रीय कार्यालयको चुहावट १३ दशमलव २८ प्रतिशतमा झरेको छ। पोखरा क्षेत्रीय कार्यालयको चुहावट ११ दशमलव ४१ प्रतिशत रहेकोमा घटेर ८ दशमलव ६१ प्रतिशतमा रहेको छ। जनकपुर, नेपालगन्ज र अत्तरिया क्षेत्रीय कार्यालयको चुहावट क्रमशः ३४ दशमलव ३६, १५ दशमलव ८४ र १५ दशमलव २९ प्रतिशत रहेकोमा घटेर २६ दशमलव २४, ९ दशमलव ७२ र १२ दशमलव १९ प्रतिशत रहेको छ। प्राधिकरणले दुई वर्षमा ५ हजार थान ट्रान्सफर्मर थप गरेको छ भने अगामी एक वर्षमा थप १० हजार थान थप्ने लक्ष्य राखेको छ। दुई वर्षको अवधिमा करिब १२ सय मेगावाटको प्रसारण तथा वितरण सबस्टेसनको क्षमता थप गरेकोे र एक वर्षभित्रमा करिब २६ सय मेगावाटको थप हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो।
‘प्रसारणलाइनतर्फ ६ सय सर्किट किलोमिटर थप गरिएको छ भने यस आवभित्रमा थप करिब ६ सय सर्किट किलोमिटर थप्छौं,’ उहाँले भन्नुभयो– ‘वितरणतर्फ करिब ८ हजार किलोमिटर थप गरेका छौं, यस आवभित्रमा थप १० हजार किलोमिटर विस्तार गर्दै छौं, करिब ७ लाख मिटर जडान भइसकेको छ भने यस आवभित्रमा थप करिब ३ लाख मिटर जडान गर्नेछौं।’