गायिका थापाको आह्वानमा सन्देशलाई सहयोगको ओइरो

0
Shares

लमजुङ, (नेस)। लमजुङमा चलिरहेको प्रथम भोटेवडार महोत्सवमा आफ्नो कला प्रस्तुतिका लागि आएकी लोकदोहोरी गायिका शर्मिला थापाको आ≈वानपछि सन्देश घिमिरे बचाउ अभियानमा सहयोगको ओइरो लागेको छ।

थापाले मिर्गौला फेल भएका नौ वर्षीय सन्देश घिमिरे बचाउ अभियानमा साथ दिन अपिल गरेपछि सहयोग जुटेको हो। सहयोग गर्नेहरूको स्टेजमै भीड लागेको थियोे। गायिका शर्मिलाले उपस्थित दर्शकलाई नौ वर्षीय बालक सन्देश घिमिरेमाथि परेको पीडामा मलम लगाउन अनुरोध गरेकी थिइन्। लमजुङको रागिनास नगरपालिका–९ मोहरियाकोट निवासी बालक सन्देश घिमिरेका दुवै मिर्गौलाले काम नगरेपछि नौ महिनादेखि उपचाररत छन्। परिवारको आर्थिक अवस्था मजबुत नभएको र उपचारमा लाखौंलाख रकम आवश्यक पर्ने भएपछि परिवारले सबैसँग सहयोगको अपिल गर्दै आएका थिए।

लोकदोहोरी गायिका एवम् सहयोगी मनकी धनी शर्मिला थापाले स्टेजमा गीत गाउँदा गाउँदै जम्मा भएको नगद १७ हजार रुपियाँ बालकलाई हस्तान्तरण गरेलगत्तै समाजसेवी कुलबहादुर गुरुङले ५ हजार रुपियाँ सहयोग गरे। त्यसपछि सहयोगी मन उत्साहित भए। करिब आधा घन्टाको समयमै झन्डै १ लाख रुपियाँ संकलन भएको आयोजक संस्थाका सदस्य एवम् कार्यक्रमका उदघोषक अनुज अधिकारीले बताए।

छोराको उपचारमा सहयोग रकम उत्साहजनक तरिकाले उठेपछि सन्देशका बाबु दीपक घिमिरेले गायिका थापाको सहयोगप्रति सधैं ऋणी रहने बताए। शर्मिलाले सर्वोदय सेवा आश्रमका लागि अक्षयकोष स्थापना गरी कुनै पनि बाबुआमाले छोराछोरीबाट अपहेलित हुने अवस्था आउनु लज्जास्पद भएको बताइन्। थापाले बाबाआमाले १० जना सन्तान भए पनि पाल्न सक्ने, तर छोराछोरीले दुई जना बाबु आमा पाल्न किन नसक्नेरु भन्ने प्रश्न गर्दै बाबुआमाको सेवा गरे मन्दिर धाएर धर्म गर्नुनपर्ने समेत चर्चा गरिन्।