मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन हुने

0
Shares

डोटी, (नेस)
जिल्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन हुने भएको छ । डोटी जिल्लामा मुख्यमन्त्री कृषि कार्यक्रम अन्तर्गत कृषि औजार उपकरण अनुदान, शीत भण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन हुने भएको हो ।

सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानिय तहमा एक–एक शीत भण्डारगृह निर्माण गर्ने लक्ष्य राखिएको सुदूरपश्चिम प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने नारासहित जिल्लाका स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्ने प्रदेश सरकारको नीति रहेको बताईएको छ । कार्यक्रम अन्तर्गत चालु आवमा १९ करोड बजेट विनियोजन गरिएको छ ।

चालू आवमा मन्त्रालयले उपलब्ध गराएको बजेटबाट राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड मार्फत कृषक, सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएकामा किसानलाई उखु र चैतेधानको बीउ पनि वितरणको प्रक्रिया शुरु गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता नीलकण्ठ पोखरेलले जानकारी दिनुभयो । १ बिघादेखि १० बिघासम्म खेती गर्न चाहनेलाई मात्र यसको बीउ शतप्रतिशत अनुदानमा वितरण गर्न सकिने मापदण्ड बनाइएको प्रवक्ता पोखरेलले बताउनुभयो ।