नगरपालिकामा लोकसेवा कक्षा

0
Shares

महेन्द्रनगर, (नेस)
भीमदत्त नगरपालिकाले महिलाहरुका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । एक महिनासम्म सञ्चालन हुने तयारी कक्षामा नगरपालिका क्षेत्रका ८० जना सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मंगलबार औपचारिक कार्यक्रमका बीच तयारी कक्षा उद्घाटन गरेका छन् । उनले तयारी कक्षाबाट लोक सेवा परीक्षाको तयारीका लागि सहभागीहरुलाई सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

‘अहिले तीन तहको सरकार छ, तिनै तहको सरकारका लागि जनशक्ति आवश्यक छ, यो कक्षाबाट त्यो जनशक्ति उत्पादन हुने आशा राखेका छौ’ उनले भने– ‘यो कक्षाले लोक सेवा तयारीका लागि सहयोग पुग्छ ।’

महिलाहरुको सरकारी सेवामा पहुँच बढाउन गत वर्षदेखि कक्षा सञ्चालन हुँदै आएको उल्लेख गर्दैैै उनले यस वर्ष निरन्तरता दिएको बताए । ‘भीमदत्त नगरका महिला दिदी बहिनीको सरकारी सेवामा पहुँच बढोस भन्ने चाहना हो’ उनले भने, ‘गत वर्ष तयारी कक्षा चलायौ, यस वर्ष निरन्तरता दियौ, अर्को वर्ष पनि निरन्तरता दिनेछौ ।’ भीमदत्त नगरपालिकाका क्षेत्रका महिलाहरु बढी भन्दा बढी लोक सेवा परीक्षा उत्तीर्ण भएको खबर सुन्न पाउने अपेक्षा राखिएको उनले बताए ।