दिसाजन्य लेदो व्यवस्थापन गर्न सम्झौता

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
दक्षिण एशियाली नगरपालिका सञ्जालहरुमा सरसफाई पैरवी परियोजना नेपाल कार्यक्रम धुलिखेल नगरपालिकामा संचालन गर्ने गरी नेपाल नगरपालिका संघ र धुलिखेल नगरपालिका बीच सम्झौता भएको छ ।

दिसाजन्य लेदो ब्यवस्थापन गर्न लेदो संकलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र सुरक्षित विसर्जन गर्न नगरपालिकालाई आवश्यक सहयोग गर्ने सम्झौतामा उल्लेख छ । दक्षिण एशियामा बढ्दो शहरीकरणसँगै दिसाजन्य लेदोको उचित ब्यवस्थापनलाई प्रभावकारी नीति निर्माण र कार्यान्वयन मार्फत समाधान गर्न र स्थानीय सरकार एवं नगरपालिकाहरुको दिसाजन्य लेदो ब्यवस्थापनमा क्षमता अभिबृद्धी गर्ने उदेश्यले युसिएलजी एएसपिएसीद्वारा नेपाल नगरपालिका संघ र बगलादेश नगरपालिका संघसँग सन् २०१८ मार्चमा साझेदारी स्थापना भएको थियो । नेपालमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा नेपाल नगरपालिका संघद्वारा दक्षिण एशियाली नगरपालिका सञ्जालहरुमा सरसफाई पैरवी परियोजना संचालन भएको छ । परियोजना २०१८ देखि मार्चदेखि सन् २०२० अक्टोबरसम्म सञ्चालन हुनेछ । धुलिखेलमा त्यहि परियोजना अनुसार संचालन हुनेछ ।

नेपालमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको, दिसाजन्य लेदो ब्यवस्थापन प्रणाली लागु गर्न सकिने, शहरी क्षेत्र तथा त्यस्ता प्रविधिहरुको आवश्यकता भएको शहरोन्मुख क्षेत्रको आधारमा नगरपालिकाहरु छनौट गरिएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाले जानकारी दिए । प्रदेश ३ मा धुलिखेल नगरपालिका, प्रदेश २ मा लाहान नगरपालिका, गण्डकी प्रदेशमा वालिङ्ग नगरपालिका, प्रदेश ५ मा लमही नगरपालिका र सुदुरपश्चिममा भीमदत्त नगरपालिका छनौट गरिएको उनले बताए ।

सम्झौता कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले शहरोन्मुख नगरपालिकामा दिसाजन्य लेदो ब्यवस्थापनका लागि यो नमुना कार्यक्रम सफल बनाउन नगरबासिहरुको सहयोग आवश्यक हुने बताए । पाईलट प्रोजेक्टका रुपमा संचालन गरिएको उक्त कार्यक्रम अर्काे चरणमा देशका अन्य शहरोन्मुख नगरपालिकाहरुमा कार्यान्वयन गरिने संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले बताए । कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटा, दातृ निकायकी प्रतिनिधि लगायतले मन्तब्य राखेका थिए ।