चालकको आँखा परीक्षण

0
Shares

बैतडी, (नेस)
दुर्घटना न्यूनीकरणका लागि बैतडीमा सवारी साधन चालकको सडकमै आँखा परीक्षण सुरु गरिएको छ। जिल्ला ट्राफिक कार्यालय बैतडीले बैतडीका राजमार्गमा सञ्चालन हुने सार्वजनिक सवारी साधानका चालकको आँखा जाँच सुरु गरेको हो। आँखा बिशेषज्ञको टोली सडकमै खटाएर चालकको आँखा जाँच गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

चालकको आँखा ठीक भए मात्रै सवारी र साधान सुरक्षित रहनको यस्तो गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिए । गत हप्तादेखि भएको आँखा परिक्षण कार्यमा हालसम्म ५० बढी चालकको आँखा जाँच गरिएको छ

परीक्षणका क्रममा चालकको आँखामा जलबिन्दु,मोतिया बिन्दु, मासु पलाएकोलगायतका संक्रमण देखा परेको चिकित्सकहरुले बताएका छन्। समस्या भएका चालकलाई उपचार गराउन सल्लाह दिइएको छ । आँखामा समस्या भएका बेला जुनसुकै समयमा पनि सवारी दुर्घटना निम्तिन सकिने भएकाले सचेत समेत पारेका बताईएको छ । यसका साथै चालकको रक्तचाप र मापसे चेकजाँच पनि गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीको सहयोगमा सवारी चालकहरुको आँखा, ब्लडप्रेसर र मापसे चेकजाँच गरिएको हो