ठेकेदार कम्पनीको बदमासीले हुलाकी राजमार्ग निर्माणमा भद्रगोल

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
पर्सामा हुलाकी रजमार्ग निर्माण कार्य भद्रगोल हुँदै गइरहेको छ ।
हुलाकी राजमार्ग अन्तर्गतका बिभिन्न सडक परियोजनाहरुका ठेकेदारहरु भागेपछि सडक निर्माण कार्य अलपत्र अवस्थामा परेको हो । वीरगन्ज–कलैया–बरियारपुर खण्ड त्यसरी नै वीरगन्ज पाखेरिा,ठोरी सडकखण्डका निर्माणमा ठेकेदार कम्पनीले पुरानै ग्राभेल र गिटी प्रयोग गर्ने तथा लापारवाही समेत गरेको स्थानीयहरुले बताएका छन् ।

एक फिट मोटाइ र १२ मिटर चौडाइको सडकमा नयाँ ग्राभेल राख्नुपर्ने सम्झौता गरे पनि कम्पनीले पहिलाको कालोपत्रे उप्काएको फोहोरसहितको ग्राभेललाई एक ठाउँबाट उठाएर अर्को ठाउँमा प्रयोग गरेको फेला परेको हो।पहिलादेखि लगभग आठ मिटर हाराहारीमा चौडा रहेको बरियारपुर–कलैया–वीरगन्ज सडकलाई अहिले नालाबाहेक १२ मिटर चौडाइमा निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जले जनाएको छ। वीरगन्ज महानगरपालिकाको लक्षुमनवादेखि महागढीमाई नगरपालिकाको बरियारपुरसम्मको लगभग १९ किलोमिटर उक्त हुलाकी राजमार्ग निर्माण गर्न स्वच्छन्दरपप्पुरहिम सगरमाथा जेभीले ८५ करोड ८५ लाखमा ठेक्का लिएको आयोजना कार्यालयले जनाएको छ।

आयोजनासँग ठेक्का सम्झौता भएपछिको काम गुणस्तरहीन निर्माण कार्यमा कुख्याती कमाएको पप्पु कन्सट्रक्सनले गरिरहेको आयोजना कार्यालय वीरगन्जका इन्जिनियर सुनिलकुमार गुप्ताले बताए।निर्माण कम्पनीले हुलाकी राजमार्गसँग गरेको सम्झौताअनुसार सडक निर्माणको क्रममा एक फिट मोटो नयाँ ग्राभेल गर्नुपर्ने उल्लेख छ। त्यसको लागि सडकको डिपिआर अनुसार १२ करोड रुपैयाँ छुट्ट्याइएको गुप्ताले बताए।हुलाकी राजमार्गका उच्च अधिकारीको मौखिक सल्लाहमा नयाँ ग्राभेलको सट्टा पहिलादेखि बाँकी रहेको ग्राभेल प्रयोगगराइएको इन्जिनियर गुप्ताले बताए। ग्राभेल कम हाल्दा बच्ने रकम कट्टा गरी निर्माण कम्पनीलाई भुक्तानी गर्ने उनको भनाइ छ।

इन्जिनियर गुप्ताले सडक निर्माणको क्रममा कति पुरानै ग्राभेल प्रयोग गरिएको र कति रकम कट्टा गरिने भन्ने यकिन नगरिएको बताए।निर्माण कम्पनीलाई कालोपत्रे सहितको पुरानै ग्राभेल प्रयोग गर्न दिएबापत हुलाकी राजमार्गका पदाधिकारीले कमिसन बुझ्न थालिसकेको स्रोतले बतायो। सडक निर्माणको क्रममा अनियमिता गरिएको भन्दै एक हप्ता पहिला संघीय संसदको विकास समितिका पदाधिकारी टोलीले अनुगमन गरी आयोजना प्रमुख अनुठालाल पटेललाई पुरानो कालोपत्रे सहितको ग्राभेल र गिटी प्रयोग नगराउन निर्देशन दिएका थिए।विकास समितिले दिएको निर्देशनलाई समेत अटेर गरी आयोजनाका पदाधिकारीले पुरानै ग्राभेल प्रयोग गराइरहेका छन्।

पप्पु कन्सट्रक्सनका प्रतिनिधि जहुर मियाँले हुलाकी राजमार्गका प्राविधिकको सल्लाह अनुसारै पुरानो ग्राभेल प्रयोग गरिएको जिकिर गरेका छन् । निर्माणाधीन बरियारपुर–कलैया–वीरगन्ज सडकमा अहिले कालोपत्रे रहेको बाहेक दायाँ–बायाँ गरी दुवै छेउमा दुई मिटरसम्म उचाइमा नयाँ माटो राखिए पनि निर्माण कम्पनीले एकपटक पनि रोलिङ नगरेको सिसहनियाका बासुदेव साहले बताए । पहिलादेखि नै ५.५ मिटरमा कालोपत्रे र एक–एक मिटरमा ग्राभेल र माटो रहेको सडकमा अहिले दायाँ–बायाँ दुवैतिर गरी अढाई–अढाई मिटर माटो पुरी सडक चौडा पारिएको छ।