कलुवापुर–बेलौरी सडक निर्माण अलपत्र

0
Shares

नेपाल समाचारपत्र, महेन्द्रनगर
कञ्चनपुरको बेलौरी जोड्ने कलुवापुर–बेलौरी–वैशाखा भन्सार सडक निर्माण कार्य अलपत्र परेको छ । बेलौरी–उत्तर महेन्द्र राजमार्गदेखि कलुवापुरसम्मको २७ किलोमिटर सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीको लापरबाहीका कारण सात महिनादेखि निर्माण कार्य रोकिएको हो ।

संघीय सरकारअन्तर्गत निर्माण कार्य भइरहेको उक्त सडक अहिले प्रदेश सरकारको स्वामित्वमा परेपछि निर्माण अलपत्र परेको हो । साउनयता उक्त सडकको काम भएको छैन । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार सन्तोषी–थेगिम जेभीले आर्थिक वर्ष ०७३÷७४ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो ।

सम्झौताअनुसार निर्माण कम्पनीले चालु आर्थिक वर्षको १५ भदौभित्र निर्माण कार्य सक्नुपर्ने हो । १८ करोड २० लाखमा निर्माण गर्ने सम्झौता भएकोमा अहिलेसम्म निर्माण कम्पनीले चार करोड ४४ लाख भुक्तानी लिएको डिभिजन कार्यालयले जनाएको छ ।

स्थानीय एवं शुक्लाफाँटा नगरका जनप्रतिनिधि उत्तरदेव भट्टले ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीले काम गर्न छाडेपछि सडक निर्माणले गति नपाएको बताए । कलुवापुरदेखि वन्साह जंगलसम्म झन्डै तीन किलोमिटर मात्रै सडक कालोपत्रे गरिएको छ । ‘ठेकेदारले निर्माण कार्य रोक्दा काम अघि बढेको छैन,’ उनले भने, ‘सडक नबन्दा सर्वसाधारण मारमा परेका छन् ।’

सडक शुक्लाफाँटा, बेलौरी, पुनर्वास नगरपालिका र बेलडाँडी तथा लालझाडीका स्थानीयको आवतजावतको मुख्य मार्ग हो । सडक निर्माणको जिम्मा पाएको सन्तोषी–थेगिम जेभीले बजेट अभावका कारण निर्माणमा ढिलासुस्ती भएको जनाएको छ । बजेट अभाव भएको दाबी कम्पनीका प्रतिनिधि दमनराज जोशीले सडक प्रदेशअन्तर्गत गएकाले बजेट अभाव भएको बताए । ‘पहिला सडक डिभिजन कार्यालयमा केन्द्रबाट बजेट आउँथ्यो,’ उनले भने, ‘यसपाली आएको छैन काम गर्न सकिएन ।’

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख लक्ष्मीदत्त भट्टले चालू आर्थिक वर्षदेखि संघीय सरकारको मातहतमा रहेको सडकको योजना र बजेट नआएको बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा निर्माण कम्पनीले ग्राभिलिङ, कल्भर्ट र नाली निर्माण गरेको बताए । ‘ठेकेदारले सुरुदेखि निर्माणमा ढिलासुस्ती गर्दै आएको थियो,’ उनले भने ।