स्यान्टु र नविता च्याम्पियन


काठमाडौं, (नेस)
नेपाल प्रहरीका दुई खेलाडी स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ दोस्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन्।

लैनचोरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबार भएको पुरुष सिंगल्स फाइनलमा स्यान्टुले आफ्नै क्लबका विनेश खनियाँलाई सोझो सेटमा हराएर उपाधि पक्का गरेका हुन्। उनले सो खेल सहजै ११–६, १३–११, ११–५, ११–६ ले जितेका थिए। यस्तै सोही स्पर्धाको तेस्रो स्थानको खेलमा नेपाल आर्मीका कृष्ण थापा मगरले एपीएमका सुनील महर्जनलाई ४–१ ले हराएका थिए।

ललितपुर जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला उपाधि भिडन्तमा नविताले आर्मीकी दीक्षा तामाङको चुनौती ११–३, ११–७, ११–८ र ११–६ को सीधा सेटमा समाप्त पारिन्। आर्मीकी स्वेच्छा नेम्वाङ आर्मीकै रविना महर्जनलाई ४–२ ले निरास पार्दै तेस्रो भइन्।

दुवै सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सयका दर नगद पुरस्कार प्राप्त गरे। तीनदिने प्रतियोगितामा विभिन्न १० स्पर्धामा ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।