पुलिस पनि बाहिरियो


पोखरा, (नेस)
पोखरा रंगशालामा जारी मनकामना केबलकार पोखरा कपबाट अर्को विभागीय टोली नेपाल पुलिस क्लब पनि बाहिरिएको छ।
अघिल्लो दिन त्रिभुवन आर्मी क्लब विदेशी टोलीसँग लज्जास्पद ४–१ ले हारेको थियो। मंगलबार भने जापानको रिस्सो विश्वविद्यालयले पुलिसलाई १–० गोलअन्तरले हराएको हो। यो जितसँगै जापानी टोली सेमिफाइनलमा पुगेको छ। क्वार्टरफाइनलको खेलमा १९औं मिनेटमा नात्सुकी ताकेदाले दिएको पासलाई यासुताका सुजुकीले वान टचमै उत्कृष्ट गोल गरेका थिए। सोही गोल निर्णायक भएपछि पुलिस क्वार्टरफाइनलबाटै बिदा हुनुप¥यो।

निकै दबाबमा देखिएको पुलिसलाई जापानी टिमले गोल गर्ने अवसर भने दिएन। पहिलो हाफअघि नै ताकुया हिल्तोमीले डिफेन्सलाई बिट गर्दै हानेको बल पुलिसका गोलरक्षक शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरेका थिए।

खेलको ३३औं मिनेटमा ताकुया हिल्तोमीको कर्नर पासलाई ताकुतो यासिन्होले हानेको हेडबल क्रसबारनजिकैबाट बाहिरिन पुग्यो। खेलको ३८औं मिनेटमा दाइची ओगावाले हानेको हेडिङलाई पुलिसका कप्तान विक्रम धिमालले गोललाइनबाट क्लियर गर्दै पुलिसलाई थप संकटबाट जोगाए। गोलरक्षक विट भइसकेको अवस्थामा धिमालले क्लियर गरेका थिए। ४२औं मिनेटमा हिरोतो होसिकावाको लङ पावरसट बललाई पुलिसका गोलरक्षकले बचाउ गरे।

पहिलो हाफमा १–० ले पछि परेको पुलिसले दोस्रो हाफमा केही सुधार गरे पनि जित हात पार्न भने सकेन। खेलमा आफूलाई सुधार्दै दुई अवसरको सृजना गरे पनि गोल गर्न भने सकेन। उक्त अवसर खेर फाल्नुनै पुलिसका लागि दुर्भाग्य बन्न पुग्यो।

खेलको ६९औंं मिनेटमा पुलिसका भारत शाहले हानेको बललाई जापानी गोलकिपरले बचाउ गरेपछि पुलिसभित्र निराशा छायो। हरि कठायतले हानेको बल रिबाउन्ड भएपछि शाहले प्रहार गरेको बल जापानी गोलकिपरले मुस्किलले बचाएका थिए। त्यस्तै ७६औं मिनेटमा भारत शाहले नै दायाँबाट हानेको कडा प्रहार रोकेका थिए। खेलको म्यान अफ दि म्याच रिस्सो विश्वविद्यालयका नात्सुकी ताकेदा घोषित भए। उनले नगद ५ हजार रुपियाँका साथमा ट्रफी हात पारे।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले जापानी टोलीसँग खेल्दा खेल सिक्ने मौकाको रूपमा लिइएको प्रतिक्रिया दिए। ‘हामीले जापानिज युनिर्भसिटीको टिमसँग सिक्ने अवसर पायौं। आधुनिक फुटबल कसरी खेलिन्छ भन्ने सिक्ने अवसर र≈यो। शुरूमा देख्दा युवा टिम देखिएकोले जित्छौं भन्ने लागेको थियो। तर गोल खानु नै टर्निङप्वान्ट बन्यो।’ –उनले भने।