रक्तश्रावका कारण सुत्केरीको मृत्यु

0
Shares

बझाङ, (नेस)
खप्तडछान्ना गाउँपालिको दुर्गम बस्ती बडाकोट घर भएकी वर्ष ४० की उजलीदेवी थापाको सुत्केरी भइसकेपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको छ। आइतबार राति घरमा खाना खाई सकेपछि सुत्केरी व्याथा लागेकी थापालाई स्थानीय पाटादेवल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा लैजाँदै गर्दा गाउँ नजिकैकको खोलामा सुत्केरी भएकी हुन्।

बाटोमा सुत्केरी भएकी थापालाई आफन्तहरूले घरमा ल्याएपछि राति नै उच्च रक्तश्राव हुँदा मध्यरातमा नै उनको मृत्यु भएको मृतकका आफन्त मुकेश थापाले बताए।

उनले चने गाउँबाट स्टेचरमा बोकेर ल्याउँदा १० मिनेटपछि बाटोमा सकुसल बच्चा पाइन् तर घरमा ल्याएपछि राति धेरै रगत बगेर बेहोस हुँदा उनको मृत्यु भयो। वडाकोटबाट पाटादेवल स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा जान ३ घन्टाको पहाडको ओरालो पैदल बाटो हिँड्नुपर्छ। गाउँमा पनि दक्ष स्वास्थ्यकर्मी नहुँदा उपचार हुन नसकेपछि उनको मृत्यु भएको हो। मृतकका श्रीमान् रोजगारीका लागि भारत गएका छन् भने घरमा उनका दुई छोरा र एक छोरी रहेका छन्।

बाटोमा सुत्केरी भएकी थापाले छोरी पाएकी र छोरीको अवस्था सकुसल रहेको बुझिएको छ। जेठो छोराबाट नातीसमेत पाइसकेकी मृतक थापाको स्वास्थ्य अवस्था कमजोर र उमेरसमेत ढल्केको हुँदा स्वास्थ्य कमजोर भएर मत्यु भएको बताइन्छ। घरायसी कार्यबोझ र छोरा छोरीको रहरसमेत पूरा भई सकेकी थापाको बुढेसकालमा बच्चा रहन गयो भनेर आफू पनि लज्जावत हुने गरेकी आफन्तको भनाइ छ।

गाउँबाट स्वास्थ्य चौकी पनि टाढा रहेको र जिल्ला अस्पताल समेत टाढा रहेकाले छोरा बुहारीले पनि ठीक भइहाल्छ होला भनेर सोच्दा मृत्यु भएको देखिन्छ। उनले अगाडिका बच्चा पनि घरमै जन्माएकी थिइन्।

यस अगाडी पनि पटकपटक समान्य स्वास्थ्य समस्या हुँदासमेत यहाँका स्थानीयले स्वास्थ्य चौकी टाढा हुदाँ निकै समस्या झेल्दै आएका बताउँदै आएका छन्। झन्डै ३ सय परिवार रहेको बयाना, बडाकोट गाउँमा प्रसूति केन्द्रका लागि यस अगाडि पनि महिलाले बारम्बार पहल गरेको भए पनि हालसम्म यहाँ प्रसूति केन्द्र स्थापना हुन सकेको छैन।