नेपाली भूमि रक्षार्थ नेकपाका विद्यार्थी दशगजामा

0
Shares

मनोज भट्ट, महेन्द्रनगर
पुनर्बासको डोके बजारस्थित नेपाल–भारत सीमाको दशगजामा भारतीय पक्षले एकपक्षीयरूपमा नाली र डिल निर्माण गर्दा नेपाली भूमिमाथि भइरहेको अतिक्रमणको रक्षाका लागि कैलाली कञ्चनपुरका विद्यार्थी सोमबार त्यहाँ पुगेका छन्।

कञ्चनपुर र कैलालीका नेकपाका विद्यार्थी नेता तथा कार्यकर्ता पुनर्बासको डोके बजार पुगेका हुन्। ८० जनाको समूहमा गएका नेकपाका विद्यार्थी नेता तथा कार्यक्रताले नेपाल भारतको सीमा क्षेत्रमा निर्माण भइरहेको भनेको नाली र डिलको अध्ययन तथा अवलोकन गरेको अनेरास्ववियु, कञ्चनपुरका नेता कमल रोकायाले बताए।

अनेरास्ववियुका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, अनेरास्ववियु कैलालीका अध्यक्ष कुमार बडौला, उपाध्यक्ष मानबहादुर महरा, अनेरास्ववियु कञ्चनपुरका नेता कमल रोकाया, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लोकेन्द्र सिंह, केन्द्रीय सदस्य भीम सुवेदी, सिके भट्ट, किशोर भट्टलगायतका नेकपाका विद्यार्थी नेताको सहभागिता रहेको थियो।

भारतीय पक्षले दशगजा क्षेत्रमा एकपक्षीयरूपमा पूर्वाधार निर्माण गरेपछि नेपालीले विरोध गरेपछि रोकिएको थियो। सशस्त्र सीमा सुरक्षा बल कैलालीको टोली र भारतीय सीमा सुरक्षा बलको सहमतिपछि रोकिएको काम पुनः शुरू गर्न लागिएको केही भारतीय मिडियाले उल्लेख गरेका छन्। हालै भारतीय अधिकारीले सीमा क्षेत्रको अनुगमनसमेत गरेका छन्।

गतसाता भारतको गौरीफन्टामा बसेको नेपाल–भारतका सुरक्षा र वन पदाधिकारीको सर्वपक्षीय बैठकमा पूर्वाधारको काम तत्काल रोक्ने सहमति भएको थियो।

भारतीय पक्षले कञ्चनपुरको सीमा स्तम्भ १५३–१७१ नम्बरमा दुई किलोमिटरसम्म नाली निर्माणको काम अघि बढाएको हो। भारतीय सीमा सुरक्षा बलका अधिकारीले तस्करी, लागूऔषध ओसारपसार तथा आपराधिक क्रियाकलाप रोक्न सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न लागेको बताएका छन्।

निर्माण हुन लागेको उक्त नाली र डिल दशगजा क्षेत्रभन्दा बाहिर नै रहेको कुरा प्रमुख जिल्ला अधिकारी र स्थलगत अवलोकनपछि आफूहरूलाई पनि थाहा भएकाले भारतीय पक्षले गरिरहेको निर्माण कार्यलाई आफूहरूले कुनै प्रभाव नपारेको अनेरास्ववियु कञ्चनपुरका नेता कमल रोकायाले बताए।