समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै

0
Shares

काठमाडौं, (नेस)
पर्वत सदरमुकाम कुश्माबजारका मीनराज केसी ’अविरल’ अहिले प्रहरीसँग हातेमालो गरी समाजसेवा गर्ने काममा सक्रिय हुनुहुन्छ। नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू गरेपछि शान्ति सुरक्षाको साथै समाज सुधारका काममा आफूहरूको पनि सक्रियता बढेको उहाँको भनाइ छ।

कार्यक्रमबाट मीनराजजस्तै देशभरका नागरिक उत्साहित छन्। अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, कानुन कार्यान्वयनलगायत प्रहरीका हरेक क्रियाकलाप जनमुखी र राष्ट्रहितमा रहेको आमनागरिकको ठहर छ। ‘हर प्रहर, गाउँ र नगरी टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ सुरू भएको उक्त कार्यक्रम शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि लक्षित छ। गत कात्तिक ११ गतेदेखि देशभर एकैपटक कार्यक्रम लागू गरिएको थियो। यसअन्तर्गत ३ महिनाको अवधिमा ७७ जिल्लाका कुल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ तहसँग सम्झौतापत्रमा हस्ताक्षर भइसकेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता र सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार प्रारम्भिक चरणमै धेरै ठाउँबाट उक्त कार्यक्रमबारे सकारात्मक प्रतिक्रिया आएको छ। स्थानीय तहमा निहित सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने र अपराध नियन्त्रण एवम् रोकथाम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम सञ्चालन गर्न ३ चरणमा गरी कुल १० हजार ५६ प्रहरी कर्मचारीलाई प्रशिक्षक प्रशिक्षण अभिमुखीकरण तालिम प्रदान गरिएको र तिनै प्रशिक्षकले देशभरका विभिन्न स्थानमा गई प्रशिक्षण दिएको प्रहरीको भनाइ छ।

यस कार्यक्रमपछि प्रहरीले अहिलेसम्म ९२ नाल अवैध हतियार र ८४ राउन्ड गोली बरामद गरेको छ। ३ हजार ७ सय ८ फरार अभियुक्तमध्ये ९ सय ७४ जना पक्राउ परेका छन्। करिब १ हजार ८ सय ६५ केजी गाँजा, करिब ३ सय २९ केजी चरेश, करिब ६ केजी खैरो हेरोइन र ठूलो मात्रामा कृत्रिम लागूऔषध तथा मनोद्विपक पदार्थ बरामद भएको छ। करिब १६ बिगाह, १ हजार ४ सय ६१ रोपनी, १६ कठ्ठा, ४ धुर जमिनमा अवैधरूपमा लगाएको गाँजा खेती नष्ट गरिएको छ। प्रहरीका अनुसार कार्यक्रम प्रचारप्रसारका क्रममा घरदैलो, सार्वजनिक सुनुवाइ, खेलकुद, स्वास्थ्यलगायत विभिन्न शिविर सञ्चालन भइरहेका छन् भने पर्चा, पम्प्लेट वितरण, ¥याली, सचेतनामूलक सामग्रीसमेत वितरण गरिएको छ।