नियमविपरीत औषधि पसल चलाउँदै

0
Shares

नेपाल समाचारपत्र
गोरखा
ल्लामा सञ्चालित अधिकांश औषधि पसलले आवश्यक मापदण्ड पूरा गरेका छैनन्। विगत केही दिनयता बजार अनुगमन समितिले गरेको अनुगमनमा मापदण्ड पूरा नगरेका औषधि पसल भेटिए।

अस्पतालमार्गमा सञ्चालित गोरखा सामुदायिक डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरको ‘डकुमेन्ट नवीकरण’ नभएको पाइएको छ। २०६९ सालदेखि एक वर्षका लागि भनेर पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराबाट पाएको सञ्चालन स्वीकृत अहिलेसम्म नवीकरण नभएको पाइएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए। दश दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न समितिले निर्देशन दिएको छ।

अनुगमनको क्रममा अर्याल मेडिकल हलको नाममा दुई वटा पसल सञ्चालन भएको पाइएको छ। एउटै नामको दर्ताबाट लक्ष्मीबजार र नयाँबजारमा पसल सञ्चालनमा रहेको भेटिएको हो। एउटा पसल मात्र सञ्चालन गर्नका लागि समितिले १५ दिनको अल्टिमेटम दिएको छ। अस्पतालमार्गमा सञ्चालित तिवारी फार्मेसीका सञ्चालक अस्पतालको कर्मचारी भएको, तर विभागिय स्वीकृति नलिएको भेटिएको छ। अस्पतालका कर्मचारीले मेडिकल सञ्चालनका लागि विभागीय स्वीकृति लिनुपर्ने प्रावधान छ।

लक्ष्मीबजारमा रहेको पिप्ले आयुर्वेद फर्मामा मेडिकलका औषधि पनि बेच्ने गरेको पाइएको छ। उक्त पसललाई आयुर्वेद वा मेडिकल औषधिमध्ये एक मात्र बेच्न समितिले निर्देशन दिएको छ। समितिका संयोजक एवं सहायक प्रजिअ पौडेलको संयोजकत्वमा सोमबार बसेको बजार अनुगमन समितिको बैठकले दर्ता नभएका औषधि पसल दर्ता गर्न, डाक्टरको परामर्शबिना औषधि बच्न नदिने र नियमित बजार अनुगमन गर्ने निर्णय गरेको छ।

आगामी दिनमा अनुगमनलाई निरन्तरता दिने समिति संयोजक पौडेलले बताए। यसअघि भएका बजार अनुगमनमा मापदण्डविपरीत भेटिएका पसलका सञ्चालकलाई कुनै कारबाही नभएको गुनासो सरोकारवालाको छ। अनुगमनलाई निरन्तरता दिन उनीहरूले आग्रहसमेत गरेका छन्।