आगामी फागुन १७ गतेका लागि रिलिज डेट तोकिएको फिल्म क्याप्टेनको एक गीत भने हालै छायांकन गरिएको छ। सोमबार ललितपुरको एक पार्टी प्यालेसमा फुटबल खेलसम्बन्धी यो फिल्मको गीत खिचिएको हो।
जहाँ इशान लेखिएको जर्सी पहिरेर केही युवा बल खेलिरहेका थिए भने त्यही बीचमा नायक अनमोल केसी थिए। उनी फिल्ममा फुटबल खेलाडी इशान खड्काका रूपमा छन्। अनमोललाई फुटबलसँग खेलिरहेको देख्दा लाग्थ्यो, उनी हरि खड्काको प्रशिक्षणमा फुटबलसँग अभ्यस्त भएका छन्।
कर्ली कर्ली बोलको गीतमा अनमोल केसीसँगै उनका अभिनेता तथा निर्माता निर्देशक पिता भुवन केसीले पनि नृत्य गरेका छन्। अनमोल र भुवनका साथमा नायिका निरुता सिंहले यो गीतमा नृत्य गरेकी छिन्।
मेलिना राई र एसडी योगीद्वारा स्वरबद्व गीतमा एसडीकै शब्द तथा संगीत छ। गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राईले गरेकी छिन्। ‘गीत निकै सुन्दर छ। दर्शकले यसमा केही नयाँ स्वाद पाउनुहुनेछ।’ –इन्टु मिन्टु लन्डनमा नामक फिल्म निर्देशन गरेकी राईले गीत र त्यसको कोरियोग्राफीबारे भनिन्। पहिलोपटक नायक छोरा अनमोल केसीसँग पर्दामा देखिन लागेका भुवन मजाक गर्दै थिए– ‘मैले नाचेपछि अनमोल नर्भस देखिन थाल्यो।’ गीतको विषयमा भुवनले भने– ‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिब्रेसनको क्रममा यो गीत पर्दामा आउनेछ। दर्शकका लागि अनमोल, म र निरुताको यो गीत बेग्लै स्वाद हुनेछ।’ नायिका निरुताले यो गीत दर्शकका लागि विशेष हुने बताइन्। ‘यो गीत दर्शकका लागि एउटा बेग्लै स्वाद हुनेछ। त्यसैले यो विशेष छ।’ –निरुताको भनाइ थियो।
फिल्ममा अनमोलका साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकार प्रमुख भूमिकामा छन्। दिवाकर भट्टराईको निर्देशनमा निर्माणाधीन फिल्ममा सुदीप बरालको छायांकन छ।











प्रतिक्रिया