निकिताद्वारा बोर्ड अध्यक्षबाट राजीनामा

0
Shares

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छिन्। उनले आज माघ २३ गतेदेखि लागू हुने गरी बोर्ड अध्यक्षबाट राजीनामा दिएकी हुन्।

‘माननीय मन्त्रीज्यूसमक्ष पदबाट राजीनामा पेस गरेकी छु। व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ। खुला प्रतिस्पर्धा गरी लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आप्mनो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूआती प्रतिस्पर्धी हुनुको गौरव मिलेसँगै, म मं्सर २५, २०७४ मा तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु। योसँगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलोपटक बक्स अफिस प्रणालीको शुरूआत गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र विकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु पनि मेरा लागि विशेष अवसर भएका छन्’, निकिताले प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छिन्– ‘यसबाहेक, आजसम्म दिइएका सम्पूर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समयसीमा भित्रै सफलतापूर्वक समापन गरिएको रिपोर्टसहितको प्रगति विवरण मन्त्रीज्यूसमक्ष आजै बुझाइसकेकी छु। ऊर्जावान् नयाँ पुस्ताका चलचित्रकर्मीलाई प्रोत्साहन तथा विशिष्ट आदरणीय चलचित्रकर्मीको सम्मानमा केही उल्लेख्य कामको शुरूआत गर्ने अवसर मिल्यो। यो मेरा लागि ठूलो उपलब्धि भएको छ। सम्पूर्ण चलचित्र क्षेत्रको हितका लागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभए पनि दीर्घकालीन उपलब्धिका कयौं सम्भावनाका ढोकाहरू खुलाउन मेरो प्रयास महŒवपूर्ण भएको ठानेकी छु।’

निकिताले विज्ञप्तिमा भनेकी छिन्– ‘बक्स अफिसका अलावा, नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेसनसहित अभिलेख व्यवस्थापन, चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा विदेशी लगानीकर्ताको सम्मेलनको अवधारणा, सन्देशमूलक चलचित्रलाई करमा सहुलियत, विशिष्ट चलचित्रकर्मीका लागि उपचारलगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जातजाति, भाषाभाषीका चलचित्रलाई प्रोत्साहन र सम्मानलगायतका धेरै कामहरू, केही सम्पन्न र केही शुरूआत भएका छन्। यो छोटो कार्यकाललाई उपलब्धिपूर्ण बनाउन सहयोग गर्नुभएकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाज्यू, सञ्चार सचिवज्यूलगायत सम्पूर्ण मन्त्रालय र नेपाल चलचित्र विकास बोर्डका सम्पूर्ण परिवारप्रति कृतज्ञता व्यक्त गर्दछु। मुलुकको सेवा गर्ने अवसर पाएकोमा म नेपाल सरकार एवं प्रधानमन्त्रीज्यूप्रति आभार प्रकट गर्दछु।’

उनले नेपाल सरकारबाट प्राप्त गरेको पछिल्लो ३ महिनाको आप्mनो सम्पूर्ण तलबबापतको रकम पति रवि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिने पनि विज्ञप्तिमा जनाएकी छिन्। ‘योसँगै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने कुराको पनि जानकारी गराउँदछु। चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारीबाट अलग भए पनि, मेरो नाभीसँगै गाँसिएको गौरवशाली चलचित्र क्षेत्रको हितका लागि म सदैव क्रियाशील रहिरहने छु। यस क्षेत्रमा योगदान दिन मलाई कुनै पदको जरुरत पर्दैन।’ –विज्ञप्तिमा भनिएको छ।