प्रदेशसभा चल्न नदिने कांग्रेसको चेतावनी

0
Shares

यमलाल भुसाल, बुटवल
प्रदेश–५ को स्थायी राजधानी र नामाकरणको विषय टुंगो नलाग्दासम्म प्रदेश सभा चल्न नदिन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारको प्रदेशसभा अवरुद्ध गरेको छ।

सभामुख पूर्णबहादुर घर्तीले बैठक शुरु भएको घोषणा गरेलगत्तै कांग्रेसका सांसदहरू आसनबाट उठेर आफूहरूको विरोध रहेको जनाउ दिएका थिए।

सभामुखले विरोधको विषय पोडियमबाट राख्न अनुमति दिएपछि संसदीय दलका नेता बलदेव शर्माले प्रदेश ५ को नामाकरण र राजधानी टुंगो लगाउन बनेको विशेष समितिले प्रतिवेदन बुझाउनुपर्ने समयमा प्रतिनिधित्व नभएका जिल्लाहरूबाट सदस्य संख्या थप्ने चलखेल भएको भन्दै आफूहरूले प्रदेशसभा अघि बढ्न नदिने बताउनुभयो।

लगत्तै सभामुख घर्तीले प्रतिपक्ष दलले उठाएको विषय बैठकको कार्यसूचीमा नरहेकाले विरोध जनाउन आवश्यक नभएको भन्दै आ–आफ्नो आसनमा बस्न आग्रह गर्नुभयो। तर कांग्रेस सांसदहरूले प्रदेशसभा चल्न नदिने अडान लिएपछि सभामुख घर्तीले यो विषयमा सत्तापक्षको धारणा राख्न नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका सचेतक भूमिश्वर ढकाललाई अनुमति दिएर बैठक अगाडि बढाउन खोज्नुभयो।

कांग्रेस सांसदहरूले आफूहरूको विरोधका बाबजुद बैठक अगाडि नबढाउन सभामुख घर्तीलाई दबाब दिए पनि सभामुखको अनुमति पाएपछि नेकपाका सचेतक ढकालले कांग्रेस सांसदहरूको होहल्ला र विरोधका बाबजुद आफ्नो धारणा राख्नुभयो। विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्ला बर्दिया, रुकुम र परासीबाट एक–एकजना सदस्य थप्दा समितिलाई काम गर्न सजिलो हुने धारणा आएकाले सभामुखसमक्ष यो प्रस्ताव राखिएको धारणा ढकालको थियो।

होहल्लाका बीच ढकालले बोलेपछि सभामुख घर्तीले सत्तापक्षले प्रस्ताव राखे पनि उक्त विषय बैठकको कार्यसूचीमा नरहेकाले नियमित वैठक सञ्चालनमा अवरोध नगर्न र उक्त विषयमा बाहिर सहमति गरेर निष्कर्ष निकाल्न आ≈वान गर्दै बैठक अगाडि बढाउने प्रयत्न गर्नुभयो।

सभामुखले जवर्जस्ती गर्न थालेपछि कांग्रेस सांसदहरू रोस्ट्रम घेराउका लागि रोस्टम अगाडि उभिनुभयो। सभामुखले बारम्बार आग्रह गरे पनि कांग्रेस सांसदहरूले नमानेपछि अन्ततः माघ २४ गतेसम्मका लागि बैठक स्थगित भयो।