आन्दोलनका घाइतेद्वारा उपचार खर्च माग

0
Shares

दीपेन्द्र शर्मा, सुर्खेत
कर्णाली प्रदेश प्राप्तिको आन्दोलनका घाइतेहरूले उपचार खर्चको व्यवस्था गर्न माग गरेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग आन्दोलनका घाइते अपा·हरूले आज मागपत्र बुझाउँदै आफूहरूको उपचार तथा यातायात खर्चको व्यवस्था गर्न माग गरेका हुन्।

२०७२ साउन २५ गतेको प्रदेश प्राप्तिको आन्दोलनमा घाइते भएका आफूहरूले अझै पनि उपचार तथा हवाई यातायातको खर्च नपाएको भन्दै मुख्यमन्त्री शाहीसंग घाइतेहरूले गुनासो गरेका छन्। उनीहरूले घाइते भइसकेपछि उपचारका लागि हवाईजवाज चार्टरसमेत आफन्तहरूले गरेको र चार्टरको भाडा पनि अहिलेसम्म सरकारले भुक्तानी नगरेको भन्दै उक्त भाडा भुक्तानीका लागि माग गरेका छन्।

मागपत्र बुझाउँदै घाइतेहरूले मुख्यमन्त्री शाहीसंग थप उपचारको व्यवस्था, आफू र परिवारको योग्यताबमोजिम जीविकोपार्जन तथा रोजगारी र छोराछोरीको निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरेका छन्। घाइतेहरूको मागपत्र बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा भएका घाइते तथा अपा·हरूका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ। ‘यो प्रदेश प्राप्तीको मुख्य देन शहीद र तपाईं घाइते योद्धाहरूको हो, तपार्इंहरूका माग जायज छन्, सरकार माग सम्बोधनका लागि गम्भीर छ’ –मुख्यमन्त्री शाहीले भन्नुभयो।

शहीद स्मारक निर्माण गरिने
कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूको स्मृतिमा शहीद स्मारक निर्माण गरिने भएको छ।
कर्णाली प्रदेश राजधानी सुर्खेतको मुख्य चोकमा प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूको स्मृतिमा शहीदस्मारक निर्माण गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो। शहीदहरूको बलिदानीले कर्णाली प्रदेश प्राप्त भएको बताउँदै मुख्यमन्त्री शाहीले शहीदहरूको सम्मान गर्नु प्रदेश सरकारको दायित्व भएको बताउनुभयो। प्रदेश संरचना निर्माणका क्रममा तत्कालीन सरकारले भेरी, कर्णाली र राप्तीका २ जिल्ला र सुदूरपश्चिमका सेती र महाकालीसहित एउटै प्रदेश निर्माण गर्ने निर्णय गरेको थियो। भेरी, कर्णाली र राप्तीका २ जिल्लासहितको छुट्टै प्रदेशको माग गर्दै हरेक जिल्लामा आन्दोलन चर्किएको थियो।
सोही आन्दोलनका क्रममा सरकारले बल प्रयोग गर्दा सुर्खेतमा ४ जनाको ज्यान जानुका साथै धेरैको संख्यामा घाइते तथा अपा· हुनुपरेको थियो।