स्थानीय तहलाई सूचना मैत्री र पारदर्शी बनाउने अभ्यासमा पाल्पाका स्थानीय तहहरु

0
Shares

पाल्पा ।
स्थानीय तहहरु सूचना मैत्री र पारदर्शी बन्नु वन्नुपर्ने आवाज जनमानसबाट उठिरहेका वेला पाल्पामा यसको अभ्यास हुन थालेको छ । जिल्लामा यस अघि तानसेन नगरपालिका र माथागढी गाउँपालिकाले मोवाइल एप सञ्चालनमा ल्याइसकेका छन भने पछिल्लो पटक अर्काे गाउ पालिकाले पनि यस्तो अभ्यास सुरु गरेको छ ।

गाउँपालिकाबाट हुने हरेक गतिविधिहरुका विषयमा सेवाग्राहीहरुलाई जानकारी दिन र सूचना मैत्री रुपमा गाउ पालिकाकाका क्रियाकलाप संचालन गर्न पश्चिम पाल्पाको रिव्दीकोट गाउपालिकाले मोवाइल एप सुरुवात गरेको हो ।

रिब्दीकोट गाउँपालिकाले सेवाप्रवाहलाई सूचना मैत्री र पारदर्शी बनाउन मोवाइ एप सञ्चालनमा ल्याएको जनाएको छ । मोवाइल एपको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले सुभारम्भ गरेका छन् ।

एपको सुभारम्भ गर्दै अध्यक्ष जीसीले गाउँपालिकाबाट हुने हरेक गतिविधिहरुका विषयमा सेवाग्राहीहरुलाई जानकारी दिन मोवाइल एप सञ्चालनमा ल्याइएको बताए । उनले सेवाग्राहीमा सूचनाको हक सुनिश्चित गर्नुको साथै गाउँपालिकाले सञ्चालन गरेका विकास निमार्णका कामहरु पारदर्शी बनाउन मोवाइल एपले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । अध्यक्ष जीसीले अब गाउँपालिकाले प्रविधिको प्रयोग सँगै सेवाग्राहीमा छिटो र सहज रुपमा सूचना प्रवाह गर्ने बताए ।

गाउँपालिकामा हुने वडा तह देखिकै हरेक गतिविधिहरुलाई सेवाग्राहीले मोवाइल एपको माध्यमबाट घरमै बसी थाहा पाउन सक्ने प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिए । उनका अनुसार अब गाउँपालिकाले गर्ने विकास निर्माणका काम देखि कार्यक्रमका योजना सम्मका विषयहरु सहजै रुपमा आमनागरिकले थाहा पाउन सक्ने छन् । गाउँपालिकाका सूचना प्रविधि अधिकृत हेमेन्द्र कुंवरले जानकारी दिए । उनले गाउँपालिकाको सेवा सुविधा तथा गुनासो घरमै बसी एपको माध्यमबाट लिन तथा दिन सकिने बताए ।

दुइ वटा नगरपालिका र आठ वटा गाउपालिका रहेको जिल्लामा विकास निर्माण लगायत स्थानीय तहका गतिविधि र क्रियाकलापलाई सूचना प्रविधिको प्रयोग गरि सहज र सजिलै थाहा पाउनका लागि यस्ता क्रियाकलाप फलदायी हुने जानकारको टिप्पणी छ ।