दर्शकका बीच जाद्रै बस्यो दिल

0
Shares

रिलिजका लागि तयार भएको फिल्म बुलबुलको जाद्रै बस्यो दिल बोलको गीत सार्वजनिक गरिएको छ। शनिबार राजधानीको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलामा हजारौं दर्शकमाझ निर्माण पक्षले गीत सार्वजनिक गरेको हो।

बुलबुल निर्माण समूहले पहिलो गीत माया ओई ओई पनि दर्शककै माझमा गएर कलाकारलाई नचाउँदै सार्वजनिक गरेको थियो। सार्वजनिक पछिल्लो गीतमा पीडाको भाव अभिव्यक्त गर्ने मर्मस्पर्शी शब्द संयोजन गरिएको छ। गीतको दृश्यमा कहिले सडकमा हिँड्दै गरेको र कहिले पानीमा रुझ्दै गरेको देखिएकी नायिका स्वस्तिमा खड्काको जीवन्त अभिनय देखिन्छ। गीतमा मनिकला पौडेलको शब्द संकलन, उद्गम परियारको संगीत र रजिना रिमालको स्वर रहेको छ।

कार्यक्रममा बोल्दै फिल्मका निर्देशक विनोद पौडेलले फिल्मले समाजको एक वर्गको जीवन जस्ताको तस्तै पस्कने प्रयास गरेको बताए। ‘फिल्ममा हामीले सधैं आदर्शको भारी बोकाउँदै आएका छौं। यसलाई कलाको माध्यमका रूपमा मात्र लिइनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो’, उनले भने– ‘२÷३ महिना यो विषयमा अनुसन्धान गरेर मात्र यसको कथा तयार गरेका हौं। संवाद वा दृश्य कुनै पनि कुरा मनगढन्ते छैनन्।’ निर्माता अविरल थापाले बुलबुलले मौलिक फिल्म भएन भनेर गुनासो गरिरहेका दर्शक र समीक्षकको समेत परीक्षा लिने बताए। फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्की ,सृष्टि भट्टराईलगायतले अभिनय गरेका छन्। आगामी फागुन ३ गते अल नेपाल रिलिजमा हुने फिल्मका कार्यकारी निर्माता रामराजा दाहाल हुन्।