भियतनाममा नेपालको लभ स्टेसन

0
Shares

आगामी चैत २२ गतेबाट अल नेपाल रिलिज हुने लभ स्टेसनको एक गीत भियतनाममा खिचिएको छ। लिली बिलीको लोकप्रिय जोडी नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित फिल्मको घाम जून नै चाहिँदैन बोलको गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायांकन गरेर युनिट नेपाल फर्किएको छ।

नेपाल आएलगत्तै फिल्मको रिलिज डेटसमेत पक्का गरिएको छ। यसअघि अमेरिका र भियतनाम युद्धसम्बन्धी सिनेमा सहित किङकङ, एनाकोन्डाजस्ता हलिउड फिल्म छायांकन गरेको भियतनाम पुगेर लभ स्टेसनको गीत खिचिएको हो। फिल्मको लभ भियतनामको विभिन्न सुन्दर स्थानमा छायांकन गरिएको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए। यो गीतमा प्रदीप र जसिताले रोमान्स गरेका छन्। गीतको भिडियो नेपाली दर्शकका लागि नयाँ र रोमाञ्चक सावित हुने विश्वास गरिएको छ।

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका छन्। उनका अनुसार लभ स्टेसन सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म हो। नायक खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको फिल्मभन्दा पृथक रहेको बताए। नयाँ गीत घाम जून नै चाहिँदैन साह्रै मीठो र भिजुअल निकै सुन्दर बनेको प्रदीपले बताए। लभ स्टेसनलाई काफिया फिल्म्सको ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन्। प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतले अभिनय गरेको फिल्ममा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत तथा आलोक शुक्लाको छायांकन रहेको छ।