बेंसीशहरमा तामाङ सांस्कृतिक महोत्सव

0
Shares

लमजुङ, (नेस)। लमजुङका तामाङ समुदाय आफ्नो जातीय लोकसंस्कृतिको प्रवद्र्धनमा जुटेका छन्। सोनाम ल्होछारको अवसरमा जिल्ला सदरमुकाम बेंसीशहरमा दोस्रो तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरी उनीहरू संस्कृतिको प्रवद्र्धनमा जुटेका हुन्।

नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति लमजुङको आयोजनामा भएको दोस्रो तामाङ सांस्कृतिक महोत्सवलाई श्रम, रोजगार तथा समाजिक विकासमन्त्रीले शुभारम्भ गरे। बेंसीशहरको फूलबारी मञ्चमा आयोजना गरिएको तामाङका राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति एवं जिल्लास्थित तामाङ घेदुङका विभिन्न इकाइले सांस्कृतिक प्रस्तुति गरेर मनोरञ्जन दिएका थिए। कार्यक्रममा पहिलो नेपाल आइडल बुद्ध लामाका साथमा लक्ष्मी तामाङ, निमा तामाङ, मन्दरराज तामाङ, प्रशान्त तामाङ, विशाल तामाङलगायतले तामाङ गीत र नृत्य प्रस्तुत गर्दै दर्शक नचाए। महोत्सवमा तामाङको संस्कृति झल्कने नाचहरू मेन्दोमाया, सेलो नाच, बम्बो नाच, लामा नाच तथा तम्बा नाच प्रस्तुत गरिएको थियो।