नेपाली नेत्रहीन महिला च्याम्पियन


नेपाल समाचारपत्र, नेस
नेपालको नेत्रहीन महिला क्रिकेट टिमले अन्तर्रा्ष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेको छ ।

विश्वमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपालले जित्न सफल भएको हो । पाकिस्तानविरुद्धको सिरिजअन्तर्गत आइतवार भएको चौथो खेलमा ९ विकेटले विजयी बनेपछि नेपालले एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पारेको हो ।

लाहोरमा भएको पहिलो र रावलपिण्डीमा भएको तेस्रो खेल नेपालले समान १० विकेटले जितेको थियो । फैसलावादमा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो ।

इस्लामावादमा भएको खेलमा नेपालले पाकिस्तानले दिएको १०२ रनको लक्ष्य ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि विमला राईले सर्वाधिक ४२ रन बनाइन् । उनले १५ बल खेल्दै ९ चौकाको मद्दतमा नटआउट ४२ रन बनाएकी हुन् । यस्तै ओपनर मनकेसी चौधरीले २५ रन बनाउँदा मुना अर्याल २२ रनमा नटआउट रहिन् ।

मनकेसीले १३ बल खेल्दै ५ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । मुना अर्यालले २८ बल खेल्दा एक चौका प्रहार गरिन् । मुना अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा चौका प्रहार गर्ने बी वान क्याटेगोरीकी खेलाडी बनिन् । बी वान भएकोले उनको चौकाको ८ रन गणना भएको थियो ।

इस्लामावादस्थित शालिमार क्रिकेट ग्राउण्डमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

पाकिस्तानका लागि किरन रफिकले सर्वाधिक १६ रन बनाउँदा ओपनर तयावा फतिमाले १३ रन जोडिन् । नेपालको लागि कप्तान विनिता राई, मुना अर्याल र आयुष्मा क्षेत्रीले १–१ विकेट लिइन् । पाकिस्तानका ४ खेलाडी रनआउट भएका थिए ।

चौथो खेलमा नेपालको लागि सर्वाधिक ४२ रन बनाएकी विमला राई प्लेअर अफ दि म्याच घोषित भइन् । उनले १५ हजार पाकिस्तानी रुपैयाँ र ट्रफी हात पारिन् । यस्तै १ विकेट लिनुका साथै २२ रन बनाएकी मुना भ्यालुएबल प्लेअर भइन् । उनले ५ हजार प्राप्त गरिन्।