एपिएफ सेमिफाइनलमा


विजय नेपाली, पोखरा ।
पोखरा रंगशालामा जारी पोखरा कपको छैठौँ संस्करण मनकामना केबलकार पोखरा कप–२०७५ मा रुस्लान थ्रीस्टारलाई १–० गोलले हराउदै विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतवार भएको पहिलो क्वाटरफाइनल खेल सुरु भएको एक मिनेट नबित्दै एपिएफले गोल गरेको थियो । एपिएफका राजिब लोप्चनले दिएको काउन्टर पासमा सन्तोष श्रेष्ठले खेलको २५ सेकेन्डमै गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । एपिएफको जितमा सन्तोषको गोल नै निर्णायक बन्न पुग्यो ।

खेलको पहिलो मिनेट भित्रै गोल बेहोर्दा थ्रीस्टार स्तब्ध बन्न पुग्यो । २५ सेकेन्डमै गोल खाएको थ्रीस्टारले खेल आफ्नो पक्षमा राखे पनि गोल फर्काउन भने सकेन । निकै दवाबमा देखिएको थ्री स्टारले केही रामो अवसर सृर्जना गरे पनि गोल भने गर्न सकेन । खेलको आठौ मिनेटमा थ्रीस्टारका सुनिल बलले दिएको क्रस पासमा रञ्जन विष्टले हेड प्रहार गर्दा सेकेन्डवार नजिकैबाट बाहिरिन पुगेको थियो । त्यस्तै एपिएफका राजिव लोप्चनले खेलको ११ औ मिनेटमा गरेको प्रहार फस्टबार नजिकैबाट बाहिरिन पुगेको थियो भने २५ औ मिनेटमा लोप्चनले नै गरेको प्रहार सेकेन्डवार हुदैँ वाहिरिएको थियो ।

एक गोलले पछि परेको थ्री स्टारले दोस्रो हाफमा पाएको केहि अवसर खेर फालेको थियो । निकै नै आक्रामक खेलेको थ्रीस्टारले खेलको अन्तिम समयसम्म प्रयास गर्दा समेत गोल गर्न सकेन । ‘थ्रीस्टार जस्तो टिमलाई जित्नु एपिएफको लागि ठुलो कुरा हो, एपिएफले अन्तिम समय सम्म रोक्न सक्नु खेलाडीको मिहेनत हो‘ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने । हामीले पहिलो समयमै खोल खानु दुर्भाग्य भयो, हामीले धेरै अवसर सृजना गर्दा समेत गोल गर्न सकेनौ–उनले भने । लिगपछि लगातार मोफसलमा खेल्दा टिम सेट नभइसकेको उनको धारणा थियो । जितसंगै एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले सरप्राइज गोलले नै जित दिलाएको बताए । ‘थ्रीस्टार बलियो टिम हो, हाम्रो रणनिति भनेकै काउन्टर अट्याक थियो, तर पहिलो मिनेटमा नै गोल हुनु हाम्रो लागि फलदायी रह्यो‘ उनले भने ।

खेलको म्यान अफ दि म्याच एपिएफका रमेश डंगोल घोषित भए । उनले नगद रु पाचँ हजार रुपैयासहित ट्रफि हात पारे । प्रतियोगिताअन्तर्गत सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र क्यामरुनको डफिन्स टिम फेमिली बीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।