बार्सिलोनाको हार ट¥यो


लन्डन, (एजेन्सी)
कप्तान लियोनल मेसीले दुई गोल फर्काएपछि बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेल्दै अंक बाँडेको छ ।

ला लिगा अन्र्तगत शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको हो । दुई गोलले पछि परेको अवस्थामा घरेलु मैदानमा मेसीले पेनाल्टीमार्फत् दुई गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका थिए । मेसीले दुवै हाफमा १–१ गोल गरेका थिए ।

केभिन गेमेरियोले खेलको २४औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३२औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी प्रहारको मौका पाएको थियो । बार्सिलोनाका सर्जि रोबर्टाेले ड्यानियल वासलाई बक्सभित्र लडाएपछि भ्यालेन्सियाले पेनाल्टीको मौका पाएको थियो । जसलाई ड्यानियल पारेजोले सदुपयोग गर्दै गोलमा परिणत गरेपछि भ्यालेन्सियाको अग्रता दोब्बर बनेको थियो ।

यता ३९औं मिनेटमा लियोनेल मेसीले पेनाल्टीमार्फत् गोल गर्दै बार्सिलोनालाई २–१ को अवस्थामा ल्याएका थिए । खेलको ६४औं मिनेटमा मेसीले आर्टुरो भिडालले पासमा गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए । बराबरिपछि २२ खेलबाट ५० अंकसहित बार्सिलोना शीर्ष स्थाना कायमै रहेको छ ।

शनिवारै भएको अर्को खेलमा सेभिया भने सेल्टा भिगोसँग १–० ले पराजित भएको छ । सेभियाको २२ खेलबाट ३६ अंक छ । यस्तै रियल सोसिडाडले एथ्लेटिको बिल्बाओलाई २–१ ले हराउँदा लेभान्ते र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।