कतारलाई एसियन कप


दोहा, (एजेन्सी)
आगामी सन् २०२२ मा विश्वकपको आयोजना गर्न तयार भएको कतारले एसियन कपमा उपाधि जितेको छ।
पहिलो पटक फाइनलमा पुगेको कतारले चार पटकको एसियन च्याम्पियन जापानलाई ३–१ ले हराएको हो। कतारको फुटबलमा यो अहिलेसम्मकै ठूलो उपाधि हो। यूएईमा भएको सो प्रतियोगितामा कतारका अल्मोइज अलीले कीर्तिमानसमेत रचे। उनले ओभरहेड किकद्वारा उत्कृष्ट गोल गर्दा सो प्रतियोगितामा व्यक्तिगत नवौं गोल भएको थियो। उनले एसियन कपको इतिहासमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने कीर्तिमान राखेका हुन्।

अब्टुलाजिज हाटेमले करिब २० यार्डबाट घुमाउरो प्रहारबाट गोल थपेर कतारको जित पक्का गरेका थिए। त्यसो त जापानका टाकुमी मिनामीनोले क्लोज रेन्जमा गोल गरेर गोलअन्तर २–१ मा खुम्च्याएका थिए। तर अकरम अफिफले पेनाल्टी किकमा गोल गर्दै जापानलाई पाँचौं उपाधिबाट टाढा बनाइदिए। माया योसिदाले पेनाल्टी बक्समा बल हातले छोएपछि कतारलाई पेनाल्टी हान्न मौका पाएको थियो।