गाउँमा बैंक पुगेसंगै आर्थिक गतिविधिमा वृद्धि

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसंगै ग्रामिण क्षेत्रमा आर्थिक गतिबिधी बढ्दै गएका छन् । यसका साथै ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको छ ।

नेपाल सरकारले प्रत्येक स्थानीय तहमा बैंक पु¥याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो ।

सरकारले प्रत्येक स्थानीय तहमा बैंक खोल्ने नितीले जिल्लाका सबै पालिकामा बैंक स्थापना भएका हुन् ।
ग्रामिण क्षेत्रमा विभिन्न बैंकका शाखा स्थापनासंगै स्थानिय तहवाटै बैंकिङ्ग कारोबार गर्न सजिलो भएको छ । सुर्नया गाउँपालिकाको वडा नं २ सतबाँझमा नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखा स्थापना भएसंगै बैंकिङ्ग कारोवार गर्न सजिलो भएको गाउँपालिका अध्यक्ष वीर वहादुर विष्टले जानकारी दिनुभयो । सदरमुकाम धाउनुपर्ने बाध्यता हट्दै जानुका साथै गाउमै बैंकिङ्ग कारोवार गर्न सजिलो भएको छ । उहाँले भन्नुभयो“ बैंक स्थापना भएसंगै बैंकिङ्ग कारोवार गर्न सजिलो हुनुका साथै ग्रामिण अर्थतन्त्रमा पनि सुधार हुदै गएको छ ”
गाउँपालिकाभरीको ८० प्रतिसत काम बैंकवाटै हुने गरेको र गाउँपालिकामा बाँकी रहेका विद्यालय तथा अन्य संघ संस्थालाई पनि स्थानीय बैंकवाट गर्न अनुरोध गरेको उहाँले बताउनुभयो ।

नेपाल ईन्भेष्टमेण्ट बैंकको सतबाँझमा गत बर्षको फागुनमा शाखा स्थापना भएको हो । शाखा स्थापना भएपश्चात हालसम्म १ हजार १ सय जनाले बैंकमा खाता खोलेको बैंकका शाखा प्रबन्धक गोविन्द वहादुर विष्टले जानकारी दिनुभयो ।

जिल्लाको दुर्गम सिगास गाउँपालिकामा कृषि विकास बैंकको शाखा स्थापना भएको छ । त्यस क्षेत्रका नागरिकलाई पनि आर्थिक कारोबार गर्न सहज भएको हो ।

आर्थिक कारोवार बैंकमार्फत गर्दा कुनै घाटा नभई फाइदा मात्र हुने जानकारी नहुँदा वित्तीय सचेतना जगाएर सर्वसाधारणलाई बैंकको पहुँचमा ल्याउने प्रयासमा स्थानीय तहहरु लागेको छन् । दोगडाकेदार गाउँपालिकाले पनि पालिकामा हुने हरेक आर्थिक गतिविधी बैंकबाटै गरिरहेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

ग्रामीण क्षेत्रको विकास गर्ने लक्ष्य लिएर किसानलाई आर्थिकरुपमा मजबुद बनाउन बैंक आफैँले मूल्याङ्कन गरी लगानी गर्ने गरेको छ ।
सरकारले बजेट सार्वजनिक गर्ने क्रममा ‘एक घर, एक बैंक खाता’को लक्ष्य लिए अनुरुप नै यहाँका गाउँपालिकाले काम गरिरहेका छन् ।
चेतनाको अभावका कारण सर्वसाधारणले बैंकिङ प्रणालीलाई झन्झटिलो मान्ने भएकाले त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैंकले सहजीकरण गर्दै आएको दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो ।

नगरपालिकाले सामाजिक सुरक्षाभत्ता बैंकमार्फत अनिवार्य बनाएपछि वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैंकले सेवा पु¥याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको उहाँले बताउनुभयो ।

बैतडीका अधिकांश स्थानीय तहमा बैंकको शाखा स्थापनाले स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्थालगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ ।

स्थानीय तहमा खुलेका बैंकले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ ।

जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नोबेल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आईएमई बैंक , डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल ईन्भेष्टीमेन्ट बैंक, र मेलौलीमा एनसिसि बैंकका शाखा स्थापना भईसकेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखाहरु रहेका छन् भने पाटन नगरपालिकाका कृषि बिकास बैंक लगायतका शाखाहरु छन् ।