संकटालाई हराएर पुलिस क्वार्टरफाइनलमा


नेपाल समाचारपत्र, पोखरा
पोखरा रंगशालामा जारी छैठौं मनकामना केबलकार पोखरा कपअन्तर्गत शनिबार संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा पुगेको छ।

पुलिसका लागि अभिषेक रिजाल र रवि पासवानले गोल गरेका थिए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिँदा दोस्रो हाफमा गोल गर्दै पुलिसले जित हात पारेको हो। खेलमा संकटाले एक गोलले अग्रता लिए पनि जित हात पार्न सकेन। संकटाका लागि ११औं मिनेटमा सुवास गुरुङको पासमा म्याक्सवेल एल्लोनले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए।

तर ३१औं मिनेटमा नीर केसीको पासमा अभिषेकले गोल गर्दै पुलिसले खेल बराबरी बनाएको थियो। त्यस्तै खेलको ५४औं मिनेटमा संकटाका डिफेन्सले कमजोरी गर्दा दोस्रो गोल खान पुग्यो। संकटाका डिफेन्सले बल लुज गर्दा गोलरक्षक राजाबाबु थापा अघि बढ्ने क्रममा रविले सेकेन्डबार च्याप्दै गरेको प्रहारले जाली चुमेको हो। उनले म्यान अफ दि म्याच हुँदै नगद ५ हजार रुपियाँको साथमा ट्रफी हात पारे।
यसअघि पाँचौं मिनेटमा संकटाका एल्लोनको पासमा निरज खड्काले करिब २१ यार्डबाट गरेको प्रहार फस्टबार नजिकैबाट बाहिरिएको थियो। १९औं मिनेटमा रुचलले गरेको प्रहार पनि पोस्ट नजिकैबाट बाहिरिएको थियो। पहिलो हाफमा निकै आक्रामक खेल खेलेको संकटाले पुलिसलाई दबाबमा राखेको थियो। पहिलो हाफमा खराब प्रदर्शन गरेको पुलिसले दोस्रो हाफमा भने केही गतिलो प्रदर्शन गर्दै नतिजा आफ्नो बनाउन सफल भयो।

जितसँगै पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीले उचित आराम नपाएका कारण खराब प्रदर्शन गरेको बताए। ‘हामी केही दिनअघि मात्र अर्को खेल खेलेर आएका हौं, हाम्रा खेलाडीले राम्ररी आरामसमेत गर्न पाएका छैनन्, तर पनि खेलाडीले रणनीतिअनुसार खेल्दा नै जितेका छौं।’ –उनले भने। तर पनि स्ट्राइकर लाइनमा भने कमजोरी देखिएको उनले सुनाए।

‘स्ट्राइकिङ लाइनमा कमजोरी भयो। अर्को खेलमा यसलाई पनि सुधार गरेर जानेछौं, योभन्दा राम्रो खेल हुनेछ।’ –उनले भने। त्यस्तै संकटाका प्रशिक्षक सल्यान खड्गीले मुख्य डिफेन्सको गल्तीले दोस्रो गोल हुनु नै हारको कारण भएको बताए। ‘हाम्रो डिफेन्स ओभरल्याप हुँदा पुलिसले अवसर पायो त्यो नै हाम्रा लागि दुर्भाग्यपूर्ण बन्न गयो।’ –उनले भने।

यो सिजनमा पुलिसले मोफसलमा संकटालाई खप्तड गोल्डकपमा टाइब्रेकरमा पराजित गरेको थियो। संकटाले ए डिभिज लिगमा पुलिसलाई २–१ ले नै हराएको थियो। प्रतियोगिताअन्तर्गत आइतबार थ्री स्टार र एपीएफबीच पहिलो क्वार्टरफाइनल खेल हुने आयोजकले जानकारी दिए।