बाजेको पालाको सोच नातिको पालामा पूरा

0
Shares

हेटौंडा, (नेस)
मकवानपुरको अतिविकट गाउँको सदरमुकाम चार दशकपछि पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ। पश्चिम मकवानपुरको मनहरिबाट गाउँको सदरमुकाम चैनपुरसम्म सात किमि सडकको ट्र्याक खुलेपछि सदरमुकामले राजमार्गसम्म पहुँच पुगेको हो।

तत्कालीन जिल्ला विकास समितिले २०३४ सालदेखि सडक निर्माण थालेको थियो। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाको पहिलो बैठकले गाउँका लागि बहुप्रतीक्षित उक्त सडकको ट्र्याक खोल्ने निर्णय गरेपछि कामले गति लिएको हो। प्रदेश सरकारले पश्चिम मकवानपुरको विकासका लागि चालू आर्थिक वर्षमा ५ करोड अनुदान दिएको छ।

तत्कालीन जिविसले मनहरि–चैनपुर खण्डको आँपखोल्सीमा १ करोड बढी लगानीमा फलामे पुलका लागि बजेट विनियोजन गरी टेन्डरसमेत गरेको थियो तर उक्त पुल सम्पन्न गर्नका लागि टेन्डर प्रक्रियामा कोही पनि सहभागी नभएकाले काम शुरू भएको थिएन। पछिल्लो समय टेन्डर प्रक्रिया सकिएर उक्त खण्डमा निर्माण कार्य शुरू भएको हो।

राक्सिराङ–८ का ९७ वर्षीय जितबहादुर थिङ भन्नुहुन्छ– ‘पहिला चार घन्टा लगाएर भए पनि मनहरि पुगेका थियौं। बाटोका कारण कति चोटी खोलाले बगाएर मर्दै बाँचेका थियौं। बाटो बनेको सुन्दा र हेर्दा आनन्द लागेर आउँछ।’ ‘मेरो पालमा बन्न नसकेको बाटो नातिको पालामा बन्यो, मैले दुःख पाए पनि नातिले बाटोका कारण दुःख पाउने छैन’ –थिङले खुसी साट्नुभयो।

वडा–५, चैनपुरकी दीपकुमारी थिङ पनि बाटो बनेपछि खुसी देखिनुहुन्छ। हिउँदमा खोलाबाट हिँड्नुपर्ने, वर्षामा खोला बढ्ने र पहिरोेले कैयौंको मृत्यु भएको थियो। उहाँले भन्नुभयो– ‘अब प्रत्येक वर्ष हामीले मृत्युको सामना गर्नुपर्ने छैन।’ मोटरबाटो खुलेकाले सारा गाउँ नै रमाएको छ। राक्सिराङको चैनपुरदेखि मनहरिबजार जोड्ने ७ किलोमिटर बाटो ५५ लाखमा बनेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो।

सडकको ट्र्याक उद्घाटनसँगै मोटरमार्फत चैनपुुर पुगेर राक्सिराङ गाउँपालिकाको चौथो गाउँसभा शुरू गरिएको थियो। सभामा प्रदेशका प्रमुख विपक्षी दलका नेता तथा उक्त क्षेत्रबाट प्रदेशसभामा निर्वाचित इन्द्र बानियाँले प्रदेश सरकारको राम्रो काममा प्रतिपक्षले सधैं साथ दिने बताउनुभयो। बानियाँले लोपोन्मुख जातिका रूपमा रहेका चेपाङको जीवनस्तर उकास्न प्रदेश सरकारले महŒवपूर्ण भूमिका खेल्नुपर्ने सुझाउनुभयो।