सल्यानमा युरिया मलको अभाव

0
Shares

सरिता चलाउने, सल्यान
सल्यानमा युरिया मलको अभाव भएको छ। जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाभित्रका विभिन्न ठाउँमा युरिया मलको अभाव भएको हो । मलको अभावका कारण बन्गाड जिउली, स्वारा खोला, माझकाँडा खोला आसपासका २ हजार रोपनीभन्दा बढी खेतबारीमा लगाएको गहुँबालीमा किसानले मल प्रयोग गर्न नपाएको किसानले बताएका छन्।

युरिया मल प्रयोग गर्न नपाउँदा नगरभित्रका ३ हजार बढी किसान प्रभावित भएका हुन्  । वर्षात्पछि मल छर्ने तयारी गरेका किसान डिलरमा पुग्दा खाली हात फर्कनुपरेपछि चिन्तित भएका छन्।

कृषि सामग्री संस्थानले ठाउँ–ठाउँमा डिलरको व्यवस्था गरे पनि सम्बन्धित निकायले आवश्यकताअनुसार पु¥याउन नसकेका कारण युरिया तथा रसायनिक मलको अभाव भएको किसानले गुनासो गरेका छन् । युरिया मल प्रयोग गर्दा बाली धेरै उत्पादन हुने भएका कारण खेतमा कम्पोस्ट मलभन्दा युरिया नै प्रयोग गर्दै आएको किसान बुद्धि बुढाले बताए ।

एक सातादेखि मल खोज्दै आए पनि कहीं पाउन नसकेको उनले जनाए । उनका अनुसार लामो समयपछि वर्षात् भएकाले सुक्न लागेको गहुँबाली फस्टाउन थालेको छ । ‘अली बढी उत्पादन हुन्छ कि भनेर मल हाल्न खाजेको थिएँ, डिलर तथा बजारमा पाइएन’, उनले भने– ‘बजारमै नपाउँदा समस्या भएको छ ।’

युरिया मलको अभावका कारण आफ्नो ७ रोपनी जग्गामा मल प्रयोग गर्न नपाएको ढोरपीपलका दिलाराम घर्तीले बताए । ‘घरमा कम्पोस्ट मल उत्पादन गर्न गाई, भैंसी र बाख्रा पालेको छैन’, उनले भने– ‘सधैं युरिया मलको भर पर्दै आएको थिएँ । बजारमा नहुँदा समस्या भएको छ । मल प्रयोगगर्न नपाउँदा गहुँबाली फस्टाउन सकेको छैन ।’

विगतमा साविक कृषि विकास कार्यालयले मल उपलब्ध गराउँथ्यो । अहिले साल्ट ट्रेडिङले डिलरलाई मल उपलब्ध गराउँदै आएको छ । बजारमा महँगो मूल्यमा किन्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ । ‘अहिले महँगो मूल्यमा किन्न खोज्दा पनि पाउन सकिएन’ –किसान देवलाल खड्काले भने ।

किसानलाई कति मल आवश्यक हुन्छ भनी यकिन गर्न नसक्दा अहिले बन्गाड कुपिण्डे नगरपालिकाभित्र युरिया मलको अभाव भएको जानकी एग्रोभेटका प्रोप्राइटर खिमलाल बस्नेतले बताए । बाहिरबाट नआएकै कारण मलको अभाव भएको उनले जानकारी गराए । साल्ट ट्रेडिङ, भैरहवाबाटै मल नआएकाले समस्या भएको सल्यान इन्चार्ज विजय पासवानले बताए । गहुँबालीका लागि सबै व्यापारीले मल लगिसकेको उनको भनाइ छ ।