स्थानीय तहको गाडी दुरुपयोग

0
Shares

हिक्मत नेपाली, दैलेख
अधिकार सम्पन्न स्थानीय तहमा सवारीसाधन खरिद गर्ने होडबाजी नै चल्यो। ११ वटा स्थानीय तह रहेको दैलेखमा अधिकांश स्थानीय तहले सवारीसाधन खरिद गरिसकेका छन्। खरिद गरिएका सवारीसाधनको दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ। नियमनकारी निकायले वास्ता नगरेका कारणसमेत सरकारी नम्बर प्लेटका सवारीसाधनको दुरुपयोग बढ्दै गएको छ। माघ १९ गते सार्वजनिक बिदाको दिन शनिबार बिहान जिल्लाको महाबु गाउँपालिकाको गाडी सिक्नलाई प्रयोग गरिएको पाइएको छ।

महाबु गाउँपालिकाको भर्खरै मात्र खरिद गरी ल्याइएको बा२झ ४१५३ नम्बरको गाडी कार्यालयका कर्मचारीलगायतले सिक्नका लागि प्रयोग गरेको पाइएको हो। शनिबार बिहान दैलेख सदरमुकामको काँडाचौरको खुला मैदानमा उक्त गाडी सिक्नका लागि प्रयोग गर्दै गरेको भेटिएको हो। यो प्रतिनिधिमूलक घटना मात्रै हो। यस्तै जिल्लाका अन्य सरकारी गाडी पनि दुरुपयोग भइरहेका छन्। नारायण नगरपालिका–११ को मोटरसाइकल दुरुपयोग भइरहेको छ। उक्त मोटरसाइकल स्थानीय एक विद्यालयका शिक्षकले चलाउँदै आएका छन्।

महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले गाडी बिग्रिएको कारण ग्यारेजमा मर्मतका लागि लगिएको बताउनुभयो। उक्त गाडीको फोरबिल भाँचिएको र ग्यारेजमा लगिएको अध्यक्ष शाहीको भनाइ छ। बिग्रिएको गाडी काडाँचौरको खुला चौरमा सिक्नका लागि प्रयोग कसरी गरियो भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘गाडी बिग्रिएपछि बनाउन लगिएको हो, दैलेखमा गाडी मर्मत नहुने भयो, बाहिर लैजानुपर्नेभयो।’

सार्वजनिक बिदाको दिन शनिबार अत्यावश्यक परेमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै सरकारी सवारीसाधन चलाउन पाइने प्रावधान रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताउनुभयो। जिल्लाका सरकारी कार्यालयका सवारीसाधन दुरुपयोग नगर्न पटक–पटक आग्रह गरिरहेको बताउँदै सरकारी गाडी दुरुपयोग भएको पाइएमा पहिलो पटक दुरुपयोग नगर्न आग्रह गर्ने र पुनः दोस्रो पटक त्यसो गरेको पाइएमा सरकारी गाडी दुरुपयोग भएको बारे गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइने प्रजिअ बास्कोटाको भनाइ छ। उहाँले जिल्लामा सार्वजनिक बिदाको दिन शनिबार प्रशासनबाट अनुमतिपत्र नलिइकन कार्यालयको कामभन्दा व्यक्तिगत कामका लागि सरकारी सवारीसाधन चलाएको पाइएमा नियन्त्रणमा लिन सकिने बताउनुभयो।