अवैध सम्बन्ध लुकाउन श्रीमान्को हत्या

0
Shares

सरोज यादव, विराटनगर
इटहरी उपमहा–नगरअन्तर्गत खनार–१३ स्थित कार्टुन फ्याक्ट्रीअगाडि मृत अवस्थामा फेला परेका स्थानीय ३५ वर्षीय श्याम सरदारको उनकै श्रीमतीले हत्या गरेको तथ्य सार्वजनिक भएको छ। परपुरूषसँग अवैध सम्बन्ध बढेपछि श्रीमान्ले थाहा पाउने डरले प्रेमीसँग मिलेर ३२ वर्षीया श्रीमती देवकी सरदारले आफ्नै श्रीमान्को निर्मम हत्या गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ।

श्रीमती समेतको संलग्नतामा श्याम सरदारको सुपारी दिई हत्या गरेको प्रहरीले जनाएको छ। गएको जेठ २ गते खनारस्थित कार्टुन फ््याक्ट्रीअगाडि सरदारको शव फेला परेको थियो। वैशाख ३१ गतेबाट सम्पर्कविहीन बनेका खनार निवासी ३५ वर्षीय श्याम सरदारको विषयमा प्रहरीले खोजी गर्दा जेष्ठ २ मोटरसाइकलले थिचेको अवस्थामा उनको शव फेला परेको थियो। हत्या गरी मोटरसाइकल दुर्घटना भएको देखाउने प्रयास गरे पनि घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुशन्धान शुरू गरेको थियो।

घटनाको विषयलाई लिएर प्रहरीले उनकी श्रीमती ३२ वर्षीया देवकी सरदारलाई नियन्त्रणमा लिए पनि शुरूमा सफलता हात नपर्दा उनी त्यत्तिकै रिहा भएकी थिइन् तर प्रहरीले केही समयपछि आवश्यक प्रमाण जुटाएर पुनः पक्राउ गरेपछि प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेका उनले स्वीकारेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख तथा डीएसपी शिवकुमार श्रेष्ठले बताए।

श्रीमती देवकीकै बयानका आधारमा प्रहरीले सरदारको हत्यामा संलग्न उनका प्रेमी तथा मुख्य योजनाकारसमेत रहेका सुनसरी दुहबी–९, छातावेली निवासी वर्ष ३९ का ताहीर मिया, हत्यामा संलग्न दुहबी–९ कै मोहम्मद जाविर हुसेनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाएको जनाएको छ।

यस्तै हत्यामा संलग्न भारतको बिहार, गुडिया ग्राम पञ्चायत घर भई हाल दुहबी–८ बस्दै आएका ३१ वर्षीय रञ्जित महतो भने फरार रहेको र उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी श्रेष्ठले बताए।