धनवीर दाहाल, रुकुम
कुम पूर्वको सदरमुकामको विवादले जटिल रूप लिन थालेको छ। २०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम गोलखाडा कायम गर्ने निर्णय गरेको थियो। गोलखाडा र त्यस आसपासका सर्वसाधारण सरकारको निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै आन्दोलनको पक्षमा छन् भने रुकुमकोट र त्यस आसपासका सर्वसाधारण रुकुमकोटमै जिल्लाको स्थायी सदरमुकाम कायम गराउनुपर्ने मागसहित आन्दोलनमा छन्।
रुकुमकोटमै स्थायी सदरमुकाम कायम हुनुपर्ने माग राख्दै आएका आन्दोलनकारीले आफूहरूले गरेको बन्दको अवज्ञा गरेको भन्दै नेपाली कांग्रेसका नेता तथा पूर्वसहायक मन्त्री केशरमान रोकासहित ४ जनालाई कुटपिट गरेका छन्। रोकासहित नेकपाका नेता सतमान पुन मगर, पुुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुन मगरमाथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन्।
रुकुम पश्चिमबाट रुकुम पूर्व गइरहेका ४ जनामाथि आन्दोलनकारीले शनिबार बिहान ढुंगासमेत हानेका थिए। रुकुमकोट प्रवेश गर्नुअगावै रानीकोट भन्ने ठाउँमै आफूहरूमाथि कुटपिट भएको रोकाले बताउनुभयो। उहाँले कुटपिट नगर्न आग्रह गर्दा पनि झन् कुटपिट गरिएको बताउनुभयो।
अर्का पीडित सतमान पुनले आफूहरूमाथि सांघातिक हमला भएको बताउनुभयो। गोलखाडा सदरमुकाम कायम गर्न दबाबस्वरूप माघ ११ गते गर्ने विरोधका कार्यक्रमको बारेमा प्रशासनसहित सर्वदलीय छलफलका लागि रुकुमकोट जाँदै गर्दा कुटपिट भएको उनीहरूले बताएका छन्। जिल्लाको अवस्थामा सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो। जिल्लाको स्थायी सदरमुकाम गोलखाडा हुनुपर्ने माग राख्ने समूह एउटा छ भने रुकुमकोट कायम गर्नुपर्छ भन्ने समूह अर्को छ।
सदरमुकामसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतले पछिल्लो पटक मुद्दाको पेशी यही माघ २७ गते तोकेको छ। सरकारको निर्णय कार्यान्वनको दबाबका लागि गोलखाडा पक्षधरले यही २२ गते रुकुमकोटमा शान्तिपूर्ण विरोधको कार्यक्रमको तयारी गरेपछि रुकुमकोट पक्षधर थप आन्दोलित भएका छन्।











प्रतिक्रिया